
लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट १६२ जना स्थानीयवासी लाभान्वित भएका छन्। एचडिसिएस–नमुना सामुदायिक अस्पताल सुन्दरबजारको प्राविधिक सहयोग, सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखा तथा विभिन्न सहकारी संस्थाहरूको सहकार्यमा शिविर सञ्चालन गरिएको हो।
सुन्दरबजारमा आयोजित शिविरमा १०२ जना महिला र ६० जना पुरुषले स्वास्थ्य सेवा लिएका थिए। शिविरमा १०२ जनाले दन्त सेवा, ८८ जनाले मधुमेह परीक्षण, २१ जनाले फिजियोथेरापी सेवा तथा १२५ जनाले आँखा सम्बन्धी परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका आयोजकले जनाएको छ।
उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईका अध्यक्ष आनन्दलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका कोषाध्यक्ष सुरेन्द्र घिमिरेले सहजीकरण गरेका थिए। एचडिसिएस–नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो।
शिविरको मुख्य उद्देश्य स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु, रोगहरूको प्रारम्भिक पहिचान गर्नु, नसर्ने रोगहरूको जोखिम न्यूनीकरण गर्नु तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
स्थानीयवासीहरूको उत्साहजनक सहभागितासहित सम्पन्न शिविरले समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ। आयोजकले आगामी दिनमा पनि यस्ता स्वास्थ्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।











