
जन्मदिनमा वृक्षरोपण अभियान नेपालले स्वच्छ पर्यावरण तथा सम्पूर्ण प्राणीको अस्तित्व संरक्षणका लागि मानव समुदायलाई गम्भीर र सचेत बन्न आग्रह गरेको छ। विश्व वातावरण दिवसको अवसरमा चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयमा आयोजित वृक्षरोपण कार्यक्रममा अभियानका परिकल्पनाकार बाबुदेव सेढाँलले वातावरण संरक्षणको महत्वबारे प्रकाश पार्दै यस्तो आह्वान गरेका हुन्।
कार्यक्रममा बोल्दै वक्ताहरूले जल, जमिन र वायुमण्डलमा बढ्दो प्रदूषण मानव मात्र नभई सम्पूर्ण जीवजगतका लागि चुनौती बन्दै गएको बताए। समयमै सचेत हुन नसके वातावरणीय संकटले प्राणी अस्तित्वमै असर पार्न सक्ने चेतावनी दिँदै प्रत्येक व्यक्तिको जन्मदिनमा कम्तीमा एउटा वृक्ष रोप्ने अभियानलाई विश्वव्यापी सन्देशका रूपमा अघि बढाइएको जानकारी गराइएको थियो।
जन्मदिनमा वृक्षरोपण अभियान नेपालको आयोजनामा, नारायणी विद्या मन्दिर मावि तथा चिति साहित्य समाजको समन्वय र सहयोगमा र्यालीसहित वृक्षरोपण कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमपछि चिति साहित्य समाजद्वारा आयोजित साहित्यिक कार्यक्रममा साहित्यकार तथा अभियन्ताहरूले साहित्य र पर्यावरणबीचको अन्तरसम्बन्धबारे धारणा राखेका थिए।
विद्यालयका संस्थापक कृष्णलाल सापकोटाको प्रमुख आतिथ्यता तथा चिति साहित्य समाजका अध्यक्ष ज्ञानशाली पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियानका सल्लाहकार शिवराम सिलुवाल, अभियन्ता रामचन्द्र सेढाईं, विद्यालयका सहायक प्रधानाध्यापक केदार अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले वातावरण संरक्षण र साहित्यको भूमिकाबारे विचार व्यक्त गरेका थिए।
कार्यक्रममा अभियानकी अभियन्ता तथा साहित्यकार कसिस वाग्लेले अभियानसम्बन्धी सन्देशमूलक रचना प्रस्तुत गरेकी थिइन्। साहित्य समाजकी सचिव सोविता रेग्मीले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने कोषाध्यक्ष बाबुराम पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
यस अवसरमा विद्यालयस्तरीय मुक्तक प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। साथै कार्यक्रममा सहभागी अतिथिहरूलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।
यसैबीच, विश्व वातावरण दिवसकै अवसरमा जन्मदिनमा वृक्षरोपण अभियान नेपालको समन्वयमा डिभिजन वन कार्यालयको आयोजनामा लमजुङको बेसीशहर नगरपालिका–११ त्रिवेणी क्षेत्रमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम समेत सम्पन्न गरिएको अभियानले जनाएको छ।
अभियानले वातावरण संरक्षणलाई व्यवहारिक जीवनसँग जोड्दै वृक्षरोपण, सरसफाइ तथा जनचेतनामूलक गतिविधिमार्फत हरित र स्वच्छ समाज निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।











