वरिष्ठ लोकगायिका माया गुरुङको सम्मानमा ‘सांगीतिक साँझ–२०८३’ घोषणा

-


     सृजना बराल     
     श्रावण ९ गते २०८३ मा प्रकाशित


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङले वरिष्ठ लोकगायिका माया गुरुङको सम्मानमा आयोजना गर्न लागिएको ‘सांगीतिक साँझ–२०८३’ कार्यक्रमको औपचारिक घोषणा गरेको छ।

शनिबार बेसीशहरमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रम सार्वजनिक गर्दै आयोजकले नेपाली लोकसंगीतको संरक्षण, स्रष्टाको सम्मान तथा नयाँ पुस्तालाई लोकसंस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यका साथ विशेष सांगीतिक साँझ आयोजना गर्न लागिएको जनाएको हो।

प्रतिष्ठानका अनुसार कार्यक्रम आगामी असोज १० गते बेसीशहरस्थित फुलबारी मञ्चमा आयोजना हुनेछ। कार्यक्रममा देशका चर्चित लोक तथा दोहोरी कलाकारहरूको प्रस्तुति रहनेछ भने वरिष्ठ लोकगायिका माया गुरुङको सांगीतिक योगदानको विशेष सम्मान गरिनेछ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका प्रतिनिधिहरूले माया गुरुङले नेपाली लोकसंगीतको क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँप्रतिको सम्मानस्वरूप कार्यक्रम आयोजना गरिएको बताए। साथै कार्यक्रममार्फत लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै नयाँ पुस्तामा लोकगीतप्रति आकर्षण बढ्ने विश्वास व्यक्त गरिएको छ।

आयोजकका अनुसार कार्यक्रमबाट करिब ३० लाख रुपैयाँ आम्दानी हुने तथा १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्च कटाएर बाँकी रहने रकममध्ये केही हिस्सा वरिष्ठ लोकगायिका माया गुरुङलाई आर्थिक सहयोगस्वरूप प्रदान गरिनेछ भने बाँकी रकम राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान लमजुङको कोषमा जम्मा गरिने तयारी गरिएको छ।

कार्यक्रममा जिल्लावासीलाई सक्रिय सहभागिता जनाई नेपाली लोकसंस्कृतिको संरक्षण अभियानमा साथ दिन आयोजकले आग्रह गरेको छ। प्रतिष्ठानले यस कार्यक्रमलाई केवल सांगीतिक प्रस्तुति मात्र नभई लोकस्रष्टाप्रतिको सम्मान, लोकसंस्कृतिको प्रवर्द्धन र भावी पुस्तालाई प्रेरित गर्ने अभियानका रूपमा अघि बढाइएको जनाएको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङका अध्यक्ष प्रशान्त तामाङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष अनुज अधिकारीले कार्यक्रमको उद्देश्य, तयारी र आर्थिक योजनासहितको प्रेस विज्ञप्ति प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा बेसीशहर नगरपालिका–८ की वडा अध्यक्ष पवित्रा रानामगर, नेपाल पत्रकार महासङ्घ लमजुङका अध्यक्ष सन्देश पौडेल, लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भरत श्रेष्ठ, बेसीशहर समाजका अध्यक्ष क्याप्टेन चित्रबहादुर गुरुङ, बेसीशहर नगरपालिका–५ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ, नेपाल प्रज्ञा–प्रतिष्ठान गण्डकी प्रदेशका प्रज्ञा सदस्य बसन्त अधिकारी तथा खेमजङ गुरुङलगायतले शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल हुने विश्वास व्यक्त गरेका थिए।

आयोजकका अनुसार ‘सांगीतिक साँझ–२०८३’ ले वरिष्ठ लोकगायिका माया गुरुङको सम्मानसँगै नेपाली लोकसंगीतको संरक्षण, स्रष्टाप्रतिको सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने महत्वपूर्ण अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।