
लमजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धर्म केसीले जिल्लाको सदरमुकाम बेसीशहरमा पुगेर विभिन्न क्षेत्रका समस्या, आवश्यकता र समाधानका उपायबारे सरोकारवालासँग छलफल गरेका छन्। जिल्लाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता तथा खेलकुद पूर्वाधारको सुधारका विषयमा सांसद केसीले प्रत्यक्ष अवलोकन तथा परामर्श गरेका हुन्।
यसक्रममा सांसद केसीले प्रदेश अस्पताल लमजुङको अवलोकन गर्दै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। शिशिर देवकोटासँग भेटघाट गरेका थिए। उनले अस्पतालका विभिन्न शाखा तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिँदै प्रशासनिक व्यवस्थापन, पूर्वाधार विकास तथा सेवाको गुणस्तर सुधारका विषयमा चासो व्यक्त गरे।
भेटका क्रममा अस्पतालको स्तरोन्नति, नयाँ भवन निर्माण, विशेषज्ञ सेवा विस्तार तथा नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा छलफल भएको बताइएको छ। अस्पताललाई अझ व्यवस्थित र आधुनिक बनाउने दिशामा आवश्यक पहल गर्न आफू प्रतिबद्ध रहेको सांसद केसीले बताएका छन्।
त्यसैगरी सांसद केसीले बेसीशहर नगरपालिका–७ स्थित सहजीमा रहेको त्रिवेणी खेल मैदानको पनि अवलोकन गरेका छन्। लामो समयदेखि राष्ट्रिय स्तरको ‘त्रिवेणी फुटबल प्रतियोगिता’ आयोजना हुँदै आएको उक्त मैदान लमजुङको खेलकुद गतिविधिको केन्द्रका रूपमा परिचित छ। तीन दशकभन्दा बढी इतिहास बोकेको प्रतियोगितामा हाल १२ लाख रुपैयाँ पुरस्कार राशी राखिँदै आएको छ भने राष्ट्रिय ए डिभिजनका खेलाडी तथा टोलीहरूको सहभागितासँगै स्थानीय क्लब र खेलाडीहरूलाई पनि प्रतिस्पर्धाको अवसर प्रदान गरिँदै आएको छ।

स्थानीय तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित त्रिवेणी युवा क्लबले वर्षौंदेखि खेलकुद क्षेत्रको विकासमा योगदान दिँदै आएको भए पनि खेल मैदानको आकार मापदण्डअनुसार नहुनु, दर्शक बस्ने व्यवस्थित प्याराफिटको अभाव तथा वर्षायाममा मैदान हिलाम्मे हुने समस्या अझै कायम रहेको छ।
सांसद केसीले मैदानको अवलोकनपछि स्थानीय समाजसेवी, बुद्धिजीवी तथा त्रिवेणी युवा क्लबका पदाधिकारीहरूसँग छलफल गर्दै खेल मैदानलाई व्यवस्थित र स्तरोन्नति गर्न आवश्यक रहेको बताए। उनले खेल मैदानलाई क्रमशः रङ्गशालाको रूपमा विकास गरी राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न सक्ने पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको धारणा राखे।
लमजुङको सदरमुकाममा रहेको यो मैदान जिल्लाको एकमात्र ठूलो फुटबल मैदान भएकाले यसको विकास सबैको साझा अपेक्षा र आवश्यकताको विषय बनेको स्थानीयहरूको भनाइ छ। उचित पूर्वाधार निर्माण हुन सकेमा खेलकुद पर्यटनको विकास, राष्ट्रिय प्रतियोगिता आयोजना तथा स्थानीय प्रतिभा उत्पादनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।
उक्त छलफलका क्रममा सांसद केसीले खेलकुद पूर्वाधार निर्माणका लागि आवश्यक पहल गर्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने तथा सरकारको ध्यानाकर्षण गराइरहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले खेल क्षेत्रको विकासले युवालाई सकारात्मक दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै लमजुङको खेलकुद पहिचानलाई अझ उचाइमा पुर्याउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।









