सातौँ मर्स्याङ्दी कपमा ३६ वटा विधामा प्रतियोगिता हुँदै

-


     सृजना बराल    
     कार्तिक ३० गते २०८२ मा प्रकाशित


लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सातौँ मस्र्याङ्दी कप–२०८२ खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।
“समृद्ध, आधुनिक, हराभरा मस्र्याङ्दी गाउँपालिकाको आधार कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार” भन्ने मूल दृष्टिकोणसहित तथा “खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि” भन्ने नाराका साथ प्रतियोगिता औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

सो प्रतियोगितामा पालिका भित्रका १७ विद्यालयले भाग लिएका छन् भने सो अवधिमा कुल ३६ खेलको प्रतिस्पर्धा गरिने भएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार एथलेटिक्सका सबै खेल हुनेछन् छात्र र छात्राका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा भएको छ । जसमा गणित दौड, १००, २००, ४०० मिटरको दौड, लङ् जम्प, त्रिपल जम्म, छात्र फुटबल लगायत नृत्य प्रतियोगिता हुनेछ ।

सो प्रतिस्पर्धामा पहिलो हुने विद्यालयले ५ अंक, दोस्रो हुनेले ४ अंक, तेस्रो हुनेले ३ अंक र सहभागिताको १ अंक दिइने र अन्त्यमा सबै विद्यायको अंक जोड गरी पुरस्कृत हुने विद्यालयलाई छनौट गर्ने नीति तय गरिएको मर्स्याङ्दी गाउँपालिकाले जनाएको छ ।

मर्स्याङ्दी कपमा पहिलो हुने विद्यालयले नगद २५ हजार, मस्र्याङ्दी कप र प्रमाणपत्र पाउने छ भने दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः २० हजार र १५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ भने प्रत्येक खेलका विजेतालाई पनि पुरस्कारको प्रवन्ध गरिएको बताइएको छ ।