लमजुङ जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपन घोषणा

-


     सृजना बराल     
     असार १७ गते २०८२ मा प्रकाशित


लमजुङ जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपन घोषणा गरिएको छ । सदरमुकाम बेसीशहरमा मगंलबार कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गनुभएको हो ।

स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप जिल्ला हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी मन्त्री पाठकले गण्डकी प्रदेशले प्रदेश भित्रका सम्पूर्ण जिल्ला अस्पतालहरुलाई स्तरोन्नती गरी उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिने बताउनुभयो ।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालले प्रतिवेदन प्रस्तुत गर्दै जन्मेदेखि १५ महिनाका १ हजार ७ सय ४६ जना बालबालिकाहरुले नियमित खोप लगाइरहेको र १६ देखि २३ महिनाका बालबालिकाहरु १ हजार ८१ बालबालिकाहरुले पाउनुपर्ने सबै खोप पाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको बताउनुभयो । जिल्लामा अहिल खोप पाउनबाट कुनै पनि बालबालिकाहरु नछुटेको अवस्था रहेको खनालले बताउनुभयो ।

सम्मानपत्र ग्रहण गर्दै क्होलासोथर गाउँपालिका प्रमुख सूर्य गुरुङ र स्वास्थ्य शाखा प्रमुख त्रिलोक गुरुङ

सरकारले नेपाललाई पूर्णखोप सुनिश्चित भएको देश बनाउने राष्ट्रिय लक्ष्य अनुरुप २०७३ पौष २६ गते लमजुङ जिल्लालाई पूर्णखोप जिल्लाको रुपमा घोषण भएको थियो । त्यसपछि यस कार्यक्रमलाई दिगोे बनाउने उद्धेश्यका साथ आर्थिक वर्षमा सबै वडाहरुमा सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको सहयोगमा घरधुरी सर्वेक्षण गरी प्रमाणिकरण कार्य गरिएको बताइएको छ ।

जिल्ला समन्वय समितिका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमा जिल्ला समन्वय समितिका उपप्रमुख बुना रिमाल, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, राइनास नपाका प्रमुख खड्कबहादुर गुरुङ, मस्र्याङदी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङ, क्होलासोथर गाउँपालिकाका प्रमुख सुर्य गुरुङ, दोर्दी गाउँपालिकाका प्रमुख युवराज अधिकारी, दुधपोखरी गाउँपालिकाका प्रमुख धनप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, शिक्षा समन्वय कार्यालयका दिवाकर शर्मा लगायतको उपस्थिती रहेको थियो ।

जनस्वास्थ्य कार्यलयका कमल ओलीले स्वागत गर्नुभएको कार्यक्रममा दिपक बमजनले सहजिकरण गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका सबै पालिकाका स्वास्थ्य कार्यलयहरुलाई, उपस्वास्थ्य चौकीहरु लगायत उत्कृष्ट स्वास्थ्य स्वयमंसेविकाहरुलाई सम्मान गरिएको थियो।