आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

-


     नयाँ दीप    
     फागुन २९ गते २०८१ मा प्रकाशित


आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि आर्थात विशेष रुपमा यो पर्व मनाइन्छ ।

आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ ।
असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ ।

होलीमा रङ र अबिर आपसमा छ्याप्ने गरिए पनि अहिले पानी बढी प्रयोग हुने गरेको छ । होलीमा मादक पदार्थ सेवन गर्नेहरुको सङ्ख्या पनि वर्सेनि बढिरहेको छ । होली खेल्दा हुने आपराधिक घटना तथा दुर्घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना चलाएको छ ।