
नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो ५ वर्षमा सडक दुर्घटनामा परी १२ हजार ६१२ जनाको मृत्यु भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को १२ महिनाको अवधिमा मात्र ३५ हजार ७५४ वटा सडक दुर्घटनाका घटना भएका छन् । जसमा परी २३ सय २० जनाको मृत्यु भएको छ । यो संख्या पछिल्ला वर्षहरुको तुलनामा केही कम भएपनि ज्यानमारा दुर्घटनाको शृङ्खला भने रोकिएको छैन ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २८ सय ८३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । आव २०७७/७८ मा २६ सय ५८, आव २०७६/७७ मा २५ सय र आव २०७५/७६ मा २२ सय ५१ जनाको सडक दुर्घटनामा ज्यान गएको नेपाल प्रहरीको तथ्याङ्क छ ।
सडक दुर्घटनाले मानवीय क्षति गराउने विषयसँगै अंगभंग गराउने संख्या समेत विकराल देखिन्छ । नेपाल प्रहरीको तथ्यांक अनुसार सडक दुर्घटनाका कारण एक वर्षको अवधिमा २८ हजार ९५६ जना मानिस घाइते भएका छन् । यो आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क हो ।
आर्थिक वर्ष २०७१/७२ यता आव २०७८/७९ सम्म सडक दुर्घटनामा परी १९ हजार ३८५ जनाको ज्यान गएको छ । यस्ता दुर्घटनामा १ लाख ३५ हजार १७५ जना मानिस घाइते भएको नेपाल प्रहरीको तथ्याङ्क छ । यो अवधिमा मात्र १ लाख ८६ हजार २७७ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।
नेपालमा सवारी साधनको संख्याका हिसावले दुई पांग्रे सवारी साधन दुर्घटनाको संख्या धेरै रहेको छ । तर, मानवीय क्षति धेरै गराउने सवारी साधनमा भने यात्रुबाहक सवारी साधनको संख्या धेरै रहेको छ । आव २०७९/८० मा मात्र २८ सय १० वटा यात्रुबाहक बस दुर्घटनामा परेका छन् । यस अवधिमा १८ हजार ४९ वटा मोटरसाइकल दुर्घटनामा परेको नेपाल प्रहरीको तथ्याङ्क छ ।
देशभर ट्राफिक नियम उल्लंघनको अवस्था कति डरलाग्दो छ भन्ने विषय ट्राफिक कारवाहीबाट उठेको राजस्वबाट पनि पुष्टि हुन्छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आव २०७९/८० मा सवारी साधनमाथि गरिएको कारवाहीबाट मात्र १ अर्ब ८५ करोड २५ लाख ४२ हजार ४१५ रुपैयाँ राजस्व उठेको छ ।
सडक सुरक्षा विज्ञ तथा पूर्व ट्राफिक प्रहरी प्रमुख केशव अधिकारी सडक पूर्वाधार, कमजोर नियमन र चालकको लापरवाहीले नेपालमा धेरै दुर्घटना हुने बताउँछन् । ‘सवारी साधनको संख्याका हिसावले हामी विश्वमा नगन्य अवस्थामा छौं,’ उनले भने, ‘तर, दुर्घटना र मानवीय क्षति संसारमै उच्चमध्येमा हामी छौं, यो डरलाग्दो अवस्था हो ।’
यस्तो अवस्था आउनुमा सडकको रेखाङ्कन नमिल्नु, नेपालको भूगोल अनुसार चालक अनुमति पत्र दिने प्रणाली कमजोर हुनु र सडकमा तँछाडमछाड गर्ने चालकको प्रवृत्ति मुख्य कारण रहेको बताइएको छ ।
‘नेपालमा सडक बनाउँदा यति धेरै घुम्ति राखिन्छ कि एक अर्का दिशाबाट आएका सवारी चालकले १०÷१२ मिटर मात्र बाँकी रहँदा गाडी आएको देख्छन्,’ उनले भने, ‘तीव्र गतिमा रहेका सवारीलाई चालकले नियन्त्रणमा लिन सकेनन् भने दुर्घटना हुन्छ, यसमा सडकको डिजाइनको गल्ती हुन्छ ।’ ड्राइभर सिटमा बसेपछि ब्रेक थिच्न नमान्ने चालक र उनीहरुलाई नियमन गर्ने निकाय कमजोर हुँदा समेत नेपालमा दुर्घटना बढेको अधिकारीले बताए ।
धेरैजना यात्रु बोकेर हिंड्ने हेबी सवारी साधनको चालक दक्ष र अनुभवी हुनुपर्ने मान्यता विपरीत अनौपचारिक रुपमा लाइसेन्स प्राप्त गरी सवारी चलाउने प्रवृत्तिले समेत दुर्घटना निम्त्याउने उनको भनाइ छ ।
विज्ञहरुका अनुसार ठूला राजमार्गमा हुने दुर्घटनापछि प्रहरीले दिने प्रतिवेदनलाई गम्भीरताका साथ लिएर सुधारमा नलाग्ने राज्य संयन्त्र नै मानवीय क्षतिमा ठूलो जिम्मेवार हो । ‘कतिपय अवस्थामा एउटा साइनबोर्ड राख्दा मात्र पनि दुर्घटना कम हुन्छ,’ अधिकारी भन्छन्, ‘हामी त्यति पनि गर्न सक्दैनौं ।’ सडक सुरक्षामा सडकमा राखिने रोड फर्निचर (मार्किङ)को ठूलो भूमिका हुने उनको भनाइ छ ।