माओवादी इन्चार्जमा खनाल, संयोजक पौडेल

-


     नयाँ दीप    
     भाद्र ४ गते २०८० मा प्रकाशित


भाद्र २ गते पोखरामा सम्पन्न नेकपा माओवादी केन्द्र प्रदेश समितिको ७ औं पूर्ण बैठकले गण्डकी प्रदेशको पार्टी संरचना र नेता कार्यकर्ताको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान २०८० तीन महिने अभियानलाई सार्थक बनाउनका लागि १५ वर्षसम्म उस्तै अवस्थामा रहेका सांगठनिक संरचना परिवर्तन गरेको छ ।

घर घरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ यही भाद्र १६ गतेबाट शुरु हुन लागेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानबाट पार्टी नीति, संरचना शसक्त र कामकाजीको बनाउने उद्देश्य लिएको छ । जसका लागि विशेषगगरी देशभरका नेता कार्यकर्ताको जिम्मेवारीमा हेरफेर गरिएको छ । गण्डकी प्रदेश समिति बैठकले तनहुँ निवासी आशा खनाललाई लमजुङ जिल्लाको जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ भने मध्यनेपाल भोर्लेटार निवासी रामचन्द्र पौडेल ‘विवेक’लाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ । यसैगरी पार्टीका केन्द्रीय सदस्यहरू प्रत्येकलाई अभियान अबधिभरका लागि पालिका इन्चार्जको रुपमा पालिकामै खटिनुपर्ने प्रदेश समितिको सर्कुलरमा भनिएको छ ।

जिल्ला इन्चार्ज खनाल बेसीशहर नगरपालिकाको पनि इन्चार्जसिप गर्नुहुनेछ । यसैगरी स्थायी समिति सदस्य यसोदा सुबेदी सुन्दरबजार नगरपालिकाको इन्चार्ज, केन्द्रीय सदस्य लेख बहादुर थापा मध्यनेपाल इन्चार्ज, दोर्दी गाउँपालिका इन्चार्ज जगन्नाथ खनान, दुधपोखरी इन्चार्ज गिरिन्द्र अधिकारी, मस्र्याङ्दी इन्चार्ज लेख बहादुर र हरिजंग तामाङ, क्होलासोँथर इन्चार्जमा प्रदेश कार्यालय हेर्नेगरि होम बहादुर विकलाई तोकिएको छ ।

साथै निर्वतमान जिल्ला इन्चार्ज पारसमणी पौडेल पोखरा महानगर पालिका इन्चार्ज, केन्द्रीय सदस्य बुद्धिराम गुरुङ मनाङ इन्चार्ज र संयोजक लालबहादुर गुरुङ गल्याङ नगरपालिका इन्चार्जको जिम्मेवारी तोकिएको छ । प्रदेश समिति सदस्यमा रहनेहरू प्रत्येक वडामा पुगेर पार्टी निर्माण र रुपान्तरण अभियान अबधिभर काम गर्नुपर्ने छ । यस विशेष रुपान्तरण अभियानमा पछिल्ला दिनमा जरो गाड्न थालेको निम्न पुँजीवादी संस्कृति त्याग्नुपर्ने, सुशासनका क्षेत्रमा निर्ममतापूर्वक आफैबाट शुरु गर्नुपर्ने नियम बनाइएको संयोजक पौडेलले बताउनु भयो ।