
जमिनबाट सिधै मुल वा धारामा निस्किएको पानी देख्यौं भने हामीलाई त्यो शुद्ध लाग्छ । तर लमजुङका अधिकाशं त्यस्ता मुल वा धाराबाट निस्किएका पानीका स्रोतहरुमा इकोली भेटिएको छ । इकोली भनेको मानव वा तातो रगत हुने जनावरको दिसामा हुने एक प्रकारको विषाणु हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले जिल्लाका विभिन्न ठाउँको पानी परीक्षणका क्रममा यस्तो फेला पारेको हो । कार्यालयले जिल्लाका विभिन्न पालिकाका खानेपानी, मुल, कुवा, धारा गरी १ सय २९ स्रोतका खानेपानी परीक्षण गरेकोमा ८६ वटा स्रोतमा इकोली ग्रोथ भएको भेटिएको जनाएको छ ।
परीक्षणका क्रममा २४ आयोजना मध्ये जम्मा ६ वटा आयोजनाको पानी सिधै पिउन योग्य रहेको पाइएको छ भने १८ वटा आयोजनामा इकोली फेला परेको छ भने अन्य अव्यवस्थित स्रोतहरुमा समेत इकोली ग्रोथ भएको फेला परेको छ ।
खानेपानीको परीक्षणका लागि १८ घण्टा समय लाग्छ । एक पटकमा २० वटासम्म नमूना परीक्षण गर्न सकिने बताइएको छ । कतिपय प्रशोधन गरिएको खानेपानीको स्रोतबाट घरका धारा सम्म आएको पानीमा समेत इकोली भटिएको बताइएको छ । केन्द्रबाट फिल्टर हुने वित्तिकै परीक्षण गरिएको पानीमा इकोली नभेटिएको भए पनि उपभोक्ताको घरमा तेही पानी परीक्षण गर्दा इकोलिक भेटिएको टेक्निसियन श्रेष्ठको भनाई छ । यस्तो हुनुमा पाइपलाइनमा चुहावट हुनु र तेहिबाट इकोलिका जिवाणु प्रवेश गर्नु मुख्य कारण हो ।
एउटा आयोजनाको फिल्टरेसन स्थलदेखि वितरण ट्याङ्की र उपभोक्ताको धारासम्म तीन ठाउँमा परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन श्रेष्ठले बताउनु भयो । प्राय जसो खानेपानी प्रशोधन केन्द्रमा क्लोरिनेसन प्रभावकारी रुपमा नभएकोले पनि पानी शुद्ध हुन नसकेको कार्यालयको भनाई छ ।
पानीमा इकोली भेटिदैमा असुरक्षित नहुने तर सिधै पिउनको लागि भने योग्य नहुने जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण खनालले बताउनुभयो । इकोलीले आजका दिनसम्म मानिसलाई बिरामी नबनाए पनि तर त्यसमा अन्य ब्याक्टेरिया मिसिए पछि भने त्यो खतरनाक हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख खनालको भनाई छ ।
यो आर्थिक वर्षदेखि गण्डकी प्रदेश सरकारले ‘खानेपानी गुणस्तर निगरानी तथा समुदाय क्लोरिनेसन अभियान’ सञ्चालन गर्ने भएको छ । यस्तो कार्यक्रम अन्य छ प्रदेशमा छैन खनालले बताउनु भयो । स्वास्थ्य कार्यालयले वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष कम्तिमा छ वटा खानेपानी आयोजनाको वितरणको स्थितिका बारेमा परीक्षण गर्नु पर्ने स्वास्थ्य कार्यालय लमजुङको भनाई छ ।
जुनसुकै धारा, कुवा, मुलको वा आयोजनाको पानी सिधै पिउनु भन्दा त्यसलाई उमालेर, फिल्टर गरेर, सोडिस विधी लयातका विधी प्रयोग गरेर पानीलाई शुद्ध बनाई पिउनु नै उत्तम हुने प्रमुख खनालको भनाई छ । गर्मीको मौसम भएकाले पानी शुद्ध बनाएर पिउने, खाना खानु अघि र पछि, दिसापिसाब गरेपछि फोहर चलाएपछि राम्रोसगँ साबुनपानीले हात धुनु पर्ने र खानेकुरा राम्ररी पकाएर खाने, सडेगलेका र झिगां भन्केका खानेकुरा नखाने हो भने धेरै रोगहरुबाट बच्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।









