
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव–२०८३ आगामी पुस ८ देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। गाउँपालिका–७, ङादीस्थित ङादी खेलमैदानमा आयोजना हुने महोत्सवमा कला, संस्कृति, कृषि, पर्यटन र खेलकुदसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिने भएको हो।
मर्स्याङ्दी गाउँपालिकाको कला, संस्कृति, पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा १२५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, धार्मिक तथा सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उपज तथा हस्तकलाका सामग्रीको प्रदर्शनी र बिक्री गरिनेछ। स्थानीय मौलिक परिकारको प्रवर्द्धनका लागि खाना महोत्सवसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
महोत्सवको प्रमुख आकर्षणका रूपमा लमजुङ जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता रहनेछ। यसका साथै मर्स्याङ्दी क्षेत्रको प्राकृतिक सौन्दर्य, पर्यटकीय सम्भावना र स्थानीय मौलिक पहिचान उजागर गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन्।
महोत्सवबाट स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै मर्स्याङ्दी गाउँपालिकाको पर्यटकीय तथा सांस्कृतिक पहिचानलाई व्यापक बनाउन महोत्सव महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ।
आयोजकले पुस ८ देखि १२ गतेसम्म ङादी खेलमैदानमा सञ्चालन हुने महोत्सवमा सहभागी भई मर्स्याङ्दीको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, मौलिक परिकार र उत्पादनको अवलोकन गर्न सबैलाई आमन्त्रण गरेको छ।









