पत्रकार किशोर श्रेष्ठ पक्राउ, गोपनीयता उल्लंघनसम्बन्धी आरोपमा अनुसन्धान

-


     नयाँ दीप    
     श्रावण २७ गते २०८३ मा प्रकाशित


काठमाडौँ — पत्रकार तथा ‘जनआस्था साप्ताहिक’का सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरिएको हो।

श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली परिचालन गरिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार श्रेष्ठविरुद्ध एक जना व्यक्तिले उजुरी दिएका छन्। प्रहरीका अनुसार केही दिनअघि उनको सञ्चारमाध्यममा प्रकाशित भएको तस्बिरसँग सम्बन्धित विषयमा उजुरी परेको हो। हालसम्म एउटै उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन उनलाई बिहीबार अदालतमा उपस्थित गराउने तयारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उजुरीका आधारमा अनुसन्धान अघि बढाएको जनाएको भए पनि श्रेष्ठमाथि लागेको आरोपको अन्तिम टुंगो भने सम्बन्धित कानुनी प्रक्रियाबाट हुने छ।