
लमजुङ बेसीशहरमा दाहसंस्कारका लागि उपयुक्त सार्वजनिक घाटको अभाव अन्त्य गर्ने उद्देश्यले निर्माण गरिएको नेवास् सार्वजनिक घाट निर्माण कार्य सम्पन्न भएको छ।
बेसीशहर नेवार समाजको पहलमा निर्माण गरिएको उक्त घाट बेसीशहर नगरपालिका–७, भोटेफाँट जाने पुल नजिक अवस्थित रहेको छ। घाट नेवार समुदायको अग्रसरतामा निर्माण गरिए पनि सम्पूर्ण समुदायले प्रयोग गर्न सक्ने सार्वजनिक संरचनाका रूपमा सञ्चालन गरिने समाजले जनाएको छ।
निर्माण समितिका अनुसार घाट निर्माणका लागि समुदायबाट २४ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको थियो। निर्माण कार्यमा करिब १९ लाख रुपैयाँ खर्च भएको र बाँकी रकम समितिको आर्थिक प्रतिवेदनअनुसार व्यवस्थापन गरिने जनाइएको छ।
निर्माण गरिएको घाटमा दाहसंस्कारका लागि आवश्यक पूर्वाधार तयार गरिएको छ। त्यहाँ शवदाह स्थल, पानीको धारा, पानी आपूर्तिका लागि पम्प, आवश्यक संरचना तथा अन्य आधारभूत सुविधा निर्माण गरिएको समितिले जनाएको छ।
घाट निर्माणका लागि आवश्यक आर्थिक स्रोत बेसीशहर क्षेत्रका नेवार समुदायको सक्रिय सहभागिताबाट जुटाइएको हो। समितिका अनुसार करिब ११७ दाताले आर्थिक सहयोग गरेका थिए। बेसीशहर क्षेत्रमा करिब दुई सयभन्दा बढी नेवार परिवारको बसोबास रहेको भए पनि स्वेच्छिक सहयोगमार्फत रकम संकलन गरी परियोजना सम्पन्न गरिएको हो।

लामो समयदेखि बेसीशहर सदरमुकाम भए पनि व्यवस्थित सार्वजनिक दाहसंस्कार स्थल नहुँदा स्थानीयवासी तथा आसपासका क्षेत्रका बासिन्दाले विभिन्न समस्या भोग्दै आएका थिए। सोही आवश्यकतालाई मध्यनजर गर्दै आवश्यक पूर्वाधारसहित घाट निर्माण गरिएको हो।
जग्गा व्यवस्थापनमा सहजीकरण गरी महत्वपूर्ण भूमिका निर्वाह गर्ने गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, तथा सहयोगी दाता तथा समर्थकप्रति पनि समितिले विशेष धन्यवाद व्यक्त गरेको छ। नेवार समाजले सामुदायिक हितका यस्ता पूर्वाधार निर्माणले सामाजिक सद्भाव, सहकार्य र सेवाभावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
घाट धार्मिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण सामुदायिक पूर्वाधारका रूपमा रहने विश्वास गरिएको नेवाः घाट निर्माण मूल समितिका सचिव रबिन श्रेष्ठले बताउनुभयो । सार्वजनिक रूपमा सञ्चालन हुने भएकाले सबै समुदायका नागरिकले आवश्यकताअनुसार यसको उपयोग गर्न सक्ने जनाइएको छ।











