
वर्ष २०२६ र २७ लायन्सको नयाँ कार्यकालको पहिलो दिन लायन्स क्लब अफ लमजुङ बेँसीसहर, लायन्स क्लब अफ लमजुङ टुगेदर वी क्यान, लायन्स क्लब अफ लमजुङ दरबार र लायन्स क्लब अफ लमजुङ टुगेदर वी सर्भले संयुक्त रूपमा बेसीशहर ७ चण्डीडाँडा गुम्बा क्षेत्रको तलपट्टि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्।
विश्वभर नै प्रत्येक वर्ष जुलाई १ देखि लायन्स क्लबको नयाँ कार्यकाल सुरु हुने परम्पराअनुसार लमजुङका चारवटै क्लबले नयाँ नेतृत्वको सुरुआत वातावरण संरक्षणसँग जोडिएको सामाजिक कार्यबाट गरेका हुन्।
कार्यक्रममा करिब २५ वटा बिरुवा रोपिएको आयोजकले जनाएको छ। कपुर, धुपी र जामुनका स्थानीय वातावरणका लागि उपयुक्त बिरुवा रोप्दै चण्डीडाँडा गुम्बा क्षेत्रलाई हराभरा बनाउने तथा वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्य राखिएको थियो।
नयाँ कार्यकालका लागि लायन्स क्लब अफ लमजुङ बेँसीसहरको अध्यक्षमा रविन श्रेष्ठ, लायन्स क्लब अफ लमजुङ टुगेदर वी क्यानको अध्यक्षमा दिव्य वैद्य, लायन्स क्लब अफ लमजुङ दरबारको अध्यक्षमा त्रिलोक गुरुङ तथा लायन्स क्लब अफ लमजुङ टुगेदर वी सर्भको अध्यक्षमा अमित श्रेष्ठ रहेका छन्।

लायन्स क्लबहरूले विगतदेखि नै वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, मानवीय सेवा तथा समुदाय विकासका विविध सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। नयाँ कार्यकालमा पनि यस्ता सेवामूलक तथा समुदायमुखी कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता क्लबहरूले व्यक्त गरेका छन्।
संयुक्त वृक्षारोपण कार्यक्रमले नयाँ कार्यकालको औपचारिक सुरुआतसँगै सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणप्रतिको लायन्स क्लबहरूको प्रतिबद्धतालाई थप बलियो बनाएको आयोजकले जनाएको छ।











