
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बाढी आएको १३औँ दिन पारेर सोमबार राष्ट्रिय शोक मनाइने भएको हो।
राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
यसैगरी, अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलन तथा त्यसक्रममा ज्यान गुमाएका शहीदको सम्मानमा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
बाढी प्रभावितलाई एडीबीको ७५ करोडभन्दा बढी अनुदान
सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा व्यवसायको राहत र पुनःस्थापनाका लागि एसियाली विकास बैंक ९एडीबी०बाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अर्थात् करिब ७५ करोड ४८ लाख रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
बाढीका कारण प्रभावित व्यक्ति, उद्योग तथा व्यापार–व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायत सुविधा उपलब्ध गराउने निर्णय पनि भएको छ।
उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता
मन्त्रिपरिषद्ले बाढीपछि खोज तथा उद्धारमा परिचालित सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ।
उद्धारका क्रममा घाइते हुनेलाई निःशुल्क उपचारको व्यवस्था गरिनेछ भने ज्यान गुमाउने सुरक्षाकर्मी तथा राष्ट्रसेवकका परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।
यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १ प्रतिशत भन्सार महसुलमा २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।
मन्त्रिपरिषद्ले नेपाल प्रशासन सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिव नारायणप्रसाद भट्टलाई बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।









