बाढीपीडितको उद्धार तथा राहतका लागि बेंसीशहरका दुई संस्थाद्वारा १ लाख रुपैयाँ सहयोग

-


     नयाँ दीप    
     भाद्र १८ गते २०८३ मा प्रकाशित


भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लमजुङ बेंसीशहरका दुई सामाजिक संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख सहयोग गरेका छन्।

बेंसीशहर युथ सोसाइटी सेराले रु.५० हजार र लायन्स क्लब अफ लमजुङ बेंसीशहरले रु.५० हजार गरी कुल रु.१ लाख सहयोग गरेका हुन्।

दुवै संस्थाको नेतृत्व गरिरहेका अध्यक्ष रविन श्रेष्ठले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै आफ्नो तर्फबाट सहयोग गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “विपद्को समयमा पीडित परिवारलाई राहत र सहयोग उपलब्ध गराउनु हामी सबैको साझा दायित्व हो। त्यसै भावनाअनुसार दुवै संस्थाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हौँ।”

उक्त सहयोग रकमका विषयमा जिल्ला प्रशासन कार्यालय लमजुङमार्फत प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराइएको जनाइएको छ।

बेंसीशहर युथ सोसाइटी सेराले विभिन्न सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। स्थानीयस्तरमा सामाजिक सेवा, सहयोग तथा समुदायमा आधारित गतिविधिमा संस्थाले निरन्तर सहभागिता जनाउँदै आएको छ।

त्यस्तै, लायन्स क्लब अफ लमजुङ बेंसीशहरले पनि सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय सहयोगका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

अध्यक्ष श्रेष्ठले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण बेपत्ता भएका सबै नागरिक सकुशल भेटिऊन् र उनीहरूको यथाशीघ्र खोजी तथा उद्धार गरी परिवारसँग पुनर्मिलन गराउन सकियोस् भन्ने कामना गर्नुभएको छ।

विपद्को यस घडीमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा सहयोगी मनहरूप्रति दुवै संस्थाले हार्दिक आभार व्यक्त गरेका छन्।