
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकको राहत तथा उद्धारका लागि लमजुङको बेसीशहर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। ५ लाख सहयोग गर्ने भएको छ।
नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो संख्यामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेको छ। विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत सामग्री वितरणको कामलाई तीव्रता दिन नगरपालिकाले सरकारको ध्यानाकर्षण समेत गराएको छ।
नगर प्रमुख गुमानसिंह अर्यालका अनुसार नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु। ५ लाख नगद र नगरका सम्पूर्ण जनप्रतिनिधिहरूको आधा महिनाको पारिश्रमिक कट्टा गरी उद्धार कोषमा जम्मा गर्न लागिएको हो। यसैगरी, सामुदायिक विद्यालयका शिक्षक र नगरपालिकाका कर्मचारीहरूको हकमा भने संघीय निकायको निर्णय र निर्देशानुसार सहयोग रकम तय गरिने विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमार्फत बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ। साथै, बेपत्ता नागरिकको शीघ्र खोजी तथा उद्धार, घाइतेहरूको निस्शुल्क उपचार र घरबारविहीन भएका परिवारको पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउन माग गरिएको छ।
प्राकृतिक विपद्को सामना एक्लै सम्भव नहुने भन्दै बेसीशहर नगरपालिकाले यस्तो सङ्कटको समयमा आपसी एकता, सहकार्य र नागरिक दायित्व निर्वाह गर्न सम्पूर्ण क्षेत्रसँग अपिलसमेत गरेको छ।









