त्रिवेणी युवा क्लबद्वारा बाढीपीडितलाई दुई लाख सहयोग

-


     भरत बाबु घिमिरे     
     भाद्र १५ गते २०८३ मा प्रकाशित


लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले बाढीपीडितको राहत तथा उद्धारका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ।

क्लबले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो। बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको क्लबले जनाएको छ।

क्लबका अध्यक्ष टेकजङ गुरुङको नेतृत्वमा पदाधिकारी, सदस्य, पूर्वअध्यक्ष तथा सल्लाहकारसहितको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई उहाँकै कार्यकक्षमा भेटेर सहयोगबारे जानकारी गराएको थियो।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले पीडितको सहयोगका लागि क्लबले रकम प्रदान गरेको हो। त्रिबेणी युवा क्लब यसका साथै विभिन्न सामाजिक कामहरूमा सक्रिय रहँदै आएको छ।