२० हजारमा एक जनालाई मात्रै यस्तो साइड ईफेक्ट हुन्छ

-


     भरत बाबु घिमिरे     
     जेठ २६ गते २०८२ मा प्रकाशित


प्रदेश लमजुङ अस्पतालले गलत औषधी दिएको कारण आफ्ना बुवाको स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै एक छोरीले बनाएको भिडियोको बारेमा अस्पतालले दिएको औषधी गलत नभई औषधीको साइड ईफेक्ट भएको जनाएको छ ।
सामाजिक सञ्जालमा भिडियो आएपछि सोमबार अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी विरामीले सेवन गरेको औषधीको कारण साईडइफेक्ट भएको जनाएको हो ।

विभिन्न रोगको उपचारमा प्र्रयोग हुने र नेपाल सरकारले समेत निशुल्क उपलब्ध गराउने सिप्रोफोजासिन नामक औषधीको सेवनले बेसीशहर नगरपालिका वडा नं ९ का ५८ वर्षिय दिलबहादुर दमैलाई साइड ईफेक्ट भएको अस्पतालका मेसु शिशिर देवकोटाले बताउनुभयो ।

औषधिको साइड ईफेक्ट देखिएपछिको अवस्था

उहाँको कोलेस्ट्रोल नर्मल रहेको, उहाँको पिसाबमा इन्फेक्सन देखिएको कारणले त्यँही अनुसारको औषधी दिइएको थियो । सिप्रोफोजासिन नामक जुन उहाँलाई औषधि दिइएको थियो, त्यो गलत होइन, तर औषधिको साइड ईफेक्ट भने देखिएको हो । यस्तो असर अत्यन्तै दुर्लभ हुने र लगभग १५⁄२० हजारमा एक जनालाई मात्र यस्तो खालको असर देखिने मेसु देवकोटाले बताउनुभयो ।औषधिको यस्तो साइड ईफेक्ट दुई हप्तामा सबै ठीक हुने मेसु देवकोटाको भनाई छ ।

कुनै पनि औषधिले साइड इफेक्ट हुनसक्छ, कतिपय बिरामीमा पहिले नै अनुमान गर्न सकिन्छ भने केहीमा पूर्वानुमान गर्न नसकिने अवस्था पनि आउन सक्छ। ‘हामीले गलत औषधि दिएका होइनौँ, प्रोटोकल अनुसार औषधि चलाइएको हो। साइड इफेक्ट देखिएपछि परिवर्तन गर्नुपर्ने हुन्छ,’ अस्पताल प्रमुख मेसु देवकोटाले स्पष्ट पारे।

देवकोटाका अनुसार हाम्रो देशमा पहिले नै कुन औषधिले साइडइफेक्ट गर्छ गर्दैन भनेर जाँच्ने प्रचलन छैन । औषधि प्रयोग गर्दा खराब नतिजा आयो भनेमात्र हामी त्यसको नोट गरेर मेडिकल काउन्सिलमा पठाउँछौं र त्यस्तो औषधि नचलाउने नीति रहेको छ उहाँले भन्नुभयो ।

लमजुङ अस्पतालबाट रिफर लिएर चेकजाँचका लागि सिएमसी पुगेका विरामी दमैको त्यहाँ चेकजाँच गरेको रिर्पोट हेर्दा पनि औषधीको साइड ईफेक्ट नै भनेको मेसु देवकोटाले बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा यो सबै कुरा बिरामी वा उहाँका आफन्तले भन्न भन्दा पनि हामीभन्दा माथिल्लो निकाय, त्यही सिएमसिकै सरहरूले पनि भन्न सक्नु हुन्छ कस्को गल्ती हो भनेर । डाक्टरको गल्ती देखियो भने हामी कारवाहीका लागि तत्कालै सिफारिस गर्छौं, बाहिरका हल्लामा विश्वास गर्न भन्दा पत्रकारहरूले पनि सिएमसिकै सिनियर सरहरूसँग सम्पर्क गरेर यथार्थता बाहिर ल्याइदिनु भएमा बेस हुनेछ उहाँले भन्नुभयो ।

विरामी दिलबहादुरदमै कोखा दुखेर गत जेठ १९ गते प्रदेश अस्पताल पुगेर लमजुङमा डा. सविना गुरुङसगँ जाँच गर्नुभएको थियो । डाक्टरले लेखेको औषधी बाहिर फार्मेसीमा किनेको र त्यो खाएपछि उहाँको शरीर र खुट्टामा चिलाउने, पानीका फोकाहरु आउन सुरु भएको विरामी दमैको भनाई छ । त्यसको पर्सीपल्ट उहाँ फेरी अस्पतालमा आएर डा.गुरुङलाई देखाउनुभयो । डा. गुरुङले औषधीको साइड इफेक्टको कारण शरीरमा समस्या भएको भन्दै उहाँलाई औषधी खान रोक्नुभयो र उहाँले रिफर लिएर भरतपुर अस्पताल गएको अस्पतालको भनाई छ ।

पत्रकार भेटघाट कार्यक्रम अस्पतालका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतामा भएको थियो ।