कालिका सहकारी ठगी काण्डमा मुख्य दोषी भनिएका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ

-


     नयाँ दीप    
     पौष २२ गते २०८० मा प्रकाशित


लमजुङको बहुचर्चित कालिका सहकारी ठगी काण्डमा मुख्य दोषी भनिएका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ परेका छन् ।
काठमाण्डौंको धापासीमा लुकीछिपी बसेको अवस्थामा उनलाई प्रहरीले आइतबार दिउसो करिब ४ बजे पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार सहकारी ठगीमा मुख्य दोषी भनिएकी उनकी श्रीमती विनिता अधिकारी घिमिरे भने अझै फरार छन् ।

गएको बडादशैं अगावै उनीहरु बिरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेकोमा उनीहरु फरार रहँदै आएका थिए ।
पक्राउ परेका घिमिरेलाई अहिले काठमाडौंमै प्रहरी कार्यालयमा राखिएको उनलाई सोमबारसम्म जिल्ला प्रहरी कार्यालयमा ल्याइने जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी निरीक्षक मेघनाथ चापागाइँले जानकारी दिए ।


सहकारी ठगीको मुद्दामा जिल्ला प्रहरी कार्यालय लमजुङले सहकारी सम्बद्ध ३४ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेकोमा पहिलो चरणमा ६ जना र त्यसपछि थप १ जना गरी ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । रजिष्ट्रारको कार्यालयको छानबीनमा मुख्य दोषी देखाइएकाहरुलाई पक्राउ नगरी सामान्य नसियत दिइएका र प्रतिवेदनमा नामै उल्लेख नभएकाहरुलाई समेत पक्राउ गरी मुद्दा चलाएको भन्दै प्रहरीको आलोचना समेत भएको थियो ।


त्यतिबेला पक्राउ परेका ७ जना जिल्ला अदालत लमजुङको आदेशमा धरौटीमा रिहा भइसकेका छन् ।
जिल्ला अदालत लमजुङले फरार रहेका २७ जना विरुद्ध पुनः दोस्रो पटक पक्राउ पूर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको म्याद सकिनै लाग्दा प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो । अदालतले दिएको म्याद बुधवार सकिने बताइएको छ ।


घिमिरेले बिगतमा संस्थामा ब्यापक अनियमितता गरी बचतकर्ताहरुको बचतलाई हिनामिना गरेको पाइएपछि कालिका सहकारी संस्थाको वर्तमान सञ्चालक समितिले संस्थाको बित्तिय अबस्थाको बारेमा विश्लेषण गरीदिन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशलाई आग्रह गरेको थियो ।

समितिको आग्रह बमोजिम रजिष्ट्रारको कार्यालयले सहकारीको आर्थिक गतिविधिबारे बिज्ञमार्फत छानबीन गराएको थियो ।