
लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नागरिकहरुको सुरक्षाका लागि प्रहरीले खेलेको भूमिका सह्रनीय रहेको बताउनुभएको छ । ६८ औँ प्रहरी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई संबोधन गर्दै प्रमुख जिल्ला अधिकारीले प्रहरीकै कारण रातिमा आनन्दले निदाउन पाएको बताउनुभयो ।
अग्रगमनका लागि शान्ति सुरक्षा पहिलो सर्त रहेको बताउँदै प्रहरीले अहोरात्र नखटेको भए रातमा चैनको निद्रा निदाउन नसक्ने उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रहरी संगठनबाट संस्थानमा परिणत भएको बताउँदै जोसँग अपेक्षा गरिन्छ, उसँग गुनासो हुने उहाँले बताउनुभयो ।
प्रहरी धारिलो हतियार भएको बताउँदै यसलाई सावधानी पूर्वक चलाउनुपर्ने उहाँको भनाई थियो । प्रहरी दिवसले प्रहरीलाई कर्तव्यपथमा खट्नका लागि थप उर्जा र प्रेरणा मिल्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारीले राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सक्दा प्रहरीको गरिमा बढ्ने बताउनुभयो ।
पुर्व प्रहरी संगठनका जिल्ला उपाध्यक्ष कुलबहादुर विकले सरकारसँग आफूहरूका केही अपेक्षा रहेको बताउनुभयो । प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न खेलकुँद प्रतियोगितका विजयीलाई कार्यक्रमको अवसरमा पुरस्कृत गरिएको थियो ।
अमर प्रहरीको परिवारलाई दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।
पूर्व प्रहरी संगठनका जेष्ठ सदस्यलाई पनि सम्मान गरिएको थियो । अमर प्रहरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शुभकामना आदान प्रदान गरिएको प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले बताउनुभयो ।
प्रहरी निरीक्षक थानेश्वर चपाईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक मेघनाथ चापागाइले गर्नुभएको थियो । कार्यक्रममा श्रीजंग गण उदिपुरका गणपती मनोज कार्की, ससस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका प्रमुख खेमराज शर्मा, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल, सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यलयका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।