
बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी बेसीशहर नगर समितिले लमजुङ प्रहरीलाई शान्ति सुरक्षाका लागि रायसुझाव पेश गरेको छ । रास्वपाले चाडबाड नजिकिएको समयमा अवाञ्छित गतिविधि बढ्ने गरेको भन्दै बेसीशहरको शिर निहुरिने सबैखाले गतिविधि रोक्नका लागि रायसुझाव दिदै ध्यानाकर्षण गरेको हो ।
मंगलबार जिल्ला प्रहरी कार्यलय लमजुङ पुगेर जिल्लामा पछिल्लो समय घटेका विभिन्न घटनाहरुको स्मरण गराउँदै अबका दिनमा यस्तो क्रियाकलाप रोक्न प्रहरीले गस्ती बढाउनुपर्ने रास्वपाले माग गरेको छ ।
प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेसगँको भेटघाटमा टोलीले असोज १५ गते विहान बेसशिहरको डुम्रे– नारायणगढ बस काउन्टर फिल्महल चोकमा एक युवतीमाथि बिहानै मापसे गरेका व्यक्तिले गरेको हातपात, ४– ५ बजेदेखि सो क्षेत्र आसपासमा हुने गजडीहरूको भेला, पाँच दिन अघि मुजुवा खोलाको मुखमा कपडाको काम गर्ने पसले माथि भएको खुकुरी प्रहार, चनौटे गाउँ र आसपासका क्षेत्रमा हुने जगडीहरू भेला, होटलहरूमा हुने अबाञ्छित गतिविधि तथा विहानैदेखि मापसेद्वारा मातेर हिड्ने लगायतका स्थितिका बारेमा जानकारी गराउँदै चाडवााडको मुखमा कुनै पनि अप्रिय घटना नहोस् भनी सुरक्षा सर्तकता बढाउन माग गरेको छ ।
रास्वपाको नगर समितिका सभापति कृष्णबहादुर राउतको नेतृत्वमा गएको टोलीमा जिल्ला सहसंयोजक अशोक सापकोटा, वडा नं– ८ का सभापति ध्रुव ढकाल, वडानं– १० का अध्यक्ष सुलजङ्ग तामाङ, सो दलका कार्यकर्ता एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, नगर समितिका सभापति कृष्णबहादुर राउत लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रनाउ घलेले सुझावका लागि धन्यवाद दिदै शान्ति सुव्यवस्था कायम गर्न सक्दो प्रयत्न गर्ने र अबका दिनमा बजार क्षेत्र र आसपासमा गस्ति बढाउने बताउनु भयो ।