बेसीशहरमा दिनदहाडै सुन चोरी

-


     भरत बाबु घिमिरे    
     असाेज ११ गते २०८० मा प्रकाशित


लमजुङ सदरमुकाम बेसीशहरमा दिनदहाडै सुन चोरीका घटना बढ्दै जान थालेको छ । केहि दिन अघिमात्रै सुन चोरीको घटना सेलाउन नपाउँदै बिहिबार फेरी दिउँसै सुन चोरी भएको छ ।

बेसीशहर नगरपालिका –७ स्थित जनविकास माविको गेट नजिकैको एक घरबाट दिउँसै सुन चोरी भएको हो । स्थानीय सन्तबहादुर तामाङको घरबाट ८ तोला बढी सुन चोरी भएकोे प्रहरीले जनाएको छ । सन्तबहादुर र उनकी साली टिकामाया श्रेष्ठको गरी ८ तोला भन्दा बढी सुन चोरी भएको बताइएको छ । तीन तले घरमा सन्तबहादुर दिउँसो सबैभन्दा माथिल्लो फल्याटको कोठामा सुतेका थिए । दिउँसो १२ देखी २ बजेको समयमा चोरी भएको बताइएको छ ।

दिउँसो आफु निद्रामा परेका बेला घरकै च्यानल गेटको चाबी फोडेर सुन चोरी भएको थाहा पाएपछि तत्काल उनले प्रहरीमा खबर गरेका थिए । सुन चोरीको घटनाबारे अनुसन्धान अघि बढाएको र चोरीमा संलग्नको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

लमजुङमा पछिल्लो समय श्रृंखलाबद्ध रुपमा सुन चोरीको घट्ना घटिरहेको छ । यसरी दिनदहाडै चोरीका घटना घट्दै जान थालेपछि बेसीशहरबासीले असुरक्षाको महसुस भएको गुनासो गरेका छन् । चाडवाड नजिकिदै गर्नु र बजार क्षेत्रमा चोरीका घटना बढ्दै गएपछि सुरक्षा व्यवस्थामा कडाइ गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।