
लमजुङको राइनासनगरपालिकाको गौलीटारमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नगरस्तरीय भेलाको आयोजना गरेको छ । शनिबार भएको भेलालाई सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापती रवि लामिछाने, सांसद डा. स्वर्णिम वाग्ले लगायतको उपस्थिती रहेको थियो ।
रास्वपाका केन्द्रीय सभापती रवि लामिछानेले मतदाताका सामु आफूले बोलेका कुराहरु नबिर्सने भन्दै तपाईहरुले दिएको भोट खेर जाने हो कि भन्ने डर चिन्ता नगर्न अनुरोध गर्नु भयो ।
जनमत लिएर उत्तरदायी नभए विश्वासघात हुन्छ भन्दै सबै मिलेर एयरर्पोटबाट दिनहु देशबाट बाहिरिने हजारौं युवालाई रोक्ने काम गर्नुपर्ने उहाँको भनाई थियो ।
आजकै स्थिति हुने हो भने अब तिनै दलका नेताका आसेपासे, भरौटे, ठेकेदार र झोले कार्यकर्ता बाहेक यो मुलुकमा कोही बाँकी नरहने भन्दै हामी त्यसरी बाहिरिएका दाजुभाइ, दिदीबहिरीहरूलाई स्वादेशमा ल्याएर रोजगारी सिर्जना गर्ने योजनामा छौं रविले भन्नुभयो, नीतिगत भ्रष्टाचार नगर्ने र इमान्दारिताका साथ काम गर्ने अन्तिम आशा भनेकै रास्वपा हो भन्दै हाम्रा सबै काम पारदर्र्शी छन्, हामी चन्दा आतंक मच्चाउँदैनौं सभापती लामिछानेको भनाई थियो ।
यसैगरी, वरिष्ठ अर्थविद् एवम् सांसद डा. स्वर्णिम वाग्लेले एउटा डरलाग्दो तथ्यांक बाहिर आएको भन्दै, गएको वर्ष मात्रै नौ लाख युवाहरू यो देशमा भविष्य नदेखेर विदेश पलायन भएका छन् । अन्य वर्षमा यो तथ्यांक पाँच लाख हाराहारीमा हुन्थ्यो, कोरोनाकालमा घटेर अढाई, दुई लाखमा झरेको थियो उहाँले स्मरण गर्नु भयो । तीमध्ये एकलाख १० हजार नेपाल नफर्कने गरी गएका हुन् र तिनले एक खर्ब डलर लिएर गएका छन् भन्नुभयो ।

उनीहरूले शिक्षामा गुणस्तर नभएको र रोजगारीको अवसर नपाएका कारणले यो देशमा भविष्य छैन भनेर पलायन भएका हुन्, देशलाई यो हालतमा पुर्याउने को हुन् ? तपाईहरूले सोध्नु पर्छ र तिनलाई चिन्नु पर्छ उहाँले भन्नुभयो । विगतमा भएका सातवटा निर्वाचनमा जस्लाई मत दिएर सत्तामा पुर्याउने काम गरियो, तिनीहरू जनताका मुद्दाबाट टाढा छन्, त्यस्ता नेताहरूलाई अब विदा गर्नु पर्छ उहाँले भन्नुभयो ।
सो अवसरमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, रास्वपाका गण्डकी प्रदेशका सभापती राजन गौतम, रास्वपाका लमजुङ संयोजक धर्म केसी, जिल्ला सहसंयोजक अशोक सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम राइनासका पद्मराज पन्थीको सभापतित्वमा भएको थियो भने सञ्चालन प्रतीभा बास्तोलाले गर्नु भएको थियो ।
कार्यक्रमका अतिथिहरुलाई पञ्चैबाजाका साथमा नाचगान सहित स्वागत गरिएको थियो ।
