
काठमाण्डौ – काठमाण्डौको मैतीदेवीमा क्लिनिक सञ्चालन गर्ने डा. दिलजान मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको भन्दै नेपाल मेडिकल काउन्सिलले सचेत गराएको छ । क्लिनिकमा गैरव्यावसायिक ढङ्गले उपचार गर्ने गरेको भन्दै उजुरी परेपछि छानबिन गरेको काउन्सिलले डा. मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहरसहित वैज्ञानिक मूल्य, मान्यताअनुसार मात्र बिरामीको उपचार गर्न सचेत गराएको छ ।
डा. मन्सुरले उपचारका लागि आएका सबै बिरामीलाई एउटै कक्षामा राखी स्थापित वैज्ञानिक मूल्य, मान्यता विपरीत एकै प्रकारको परामर्श गरेको, सबै प्रकृतिका रोगका लागि एउटै भोजन योजना दिएको, अरू डाक्टरले सिफारिस गरेका औषधि विना तथ्य थपघट गरेको काउन्सिलले जनाएको छ । काउन्सिलले खटाएका विज्ञ चिकित्सकले डा. मन्सुरको उपचार पद्धतिले सबै बिरामीलाई शारीरिक तौल घटाउन स्थापित विधि ’किटो डाइट’ सिफारिस गरेको र दीर्घरोगीको नियमित औषधि रोकिनाले बिरामीलाई अपूरणीय क्षति पुग्न सक्ने सम्भावना रहेको निष्कर्ष निकालेको छ ।
यसअघि डा. मन्सुरको उपचार विधिले स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै बिरामीले गुनासो गरेपछि काठमाण्डौ महानगरपालिकाले क्लिनिक बन्द गराएको थियो ।