
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा आगामी पुस ८ देखि १२ गतेसम्म तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला आयोजना हुने भएको छ। स्थानीय कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, कला तथा संस्कृतिको संरक्षण र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवबारे आइतबार गाउँपालिकाको पर्यटकीय स्थल हर्सिङडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। गाउँपालिका–७ स्थित ङादी खेलमैदानमा पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब २० हजार दर्शक भित्र्याउने र चार करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो। महोत्सव सञ्चालनका लागि करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो।
महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय किसानका उत्पादनलाई बजारसँग जोड्ने र गाउँपालिकाभित्रका कृषि, पर्यटन तथा उद्यमशीलताका सम्भावनालाई उजागर गर्ने माध्यमका रूपमा विकास गर्न खोजिएको अध्यक्ष गुरुङको भनाइ छ।

महोत्सवमा गाउँपालिकाका नौवटै वडाका कृषि उपज, फलफूल, तरकारी, पशुपन्छी तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री गरिनेछ। स्थानीय हस्तकला, घरेलु तथा लघु उद्यमका सामग्री र मौलिक खानाका परिकारका स्टल रहनेछन्। यसका साथै स्थानीय तथा राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुति, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र लमजुङ जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता महोत्सवका मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।
गाउँपालिकाका किसान, महिला समूह, युवा उद्यमी, सहकारी तथा घरेलु उद्योगलाई आफ्ना उत्पादनको पहिचान स्थापित गर्न र बजार विस्तार गर्न महोत्सवले सहयोग पुर्याउने प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाका नौवटै वडामा रहेका कृषि, पशुपालन, पर्यटन, कला, संस्कृति, हस्तकला तथा उद्यमशीलताका सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गरिनेछ।
त्यसैगरी महोत्सवमार्फत गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ। हर्सिङडाँडा, भुस्मे, सिउरुङ, घनपोखरा, खानीगाउँ र भलामचौरका होमस्टे, डा। हर्क गुरुङ समाधिस्थल, राष्ट्रकवि माधवप्रसाद घिमिरे पार्क, वीर भक्ति थापाको जन्मस्थल, जगत तातोपानी कुण्ड तथा बाह्रपोखरीलगायतका क्षेत्रलाई महोत्सवसँग जोडेर पर्यटन प्रवर्द्धन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

समुद्री सतहदेखि करिब दुई हजार दुई सय ८४ मिटर उचाइमा रहेको हर्सिङडाँडा प्राकृतिक सौन्दर्य र हिमशृंखलाको दृश्यावलोकनका लागि आकर्षक गन्तव्य मानिन्छ। यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले पहुँचमार्ग, खानेपानी, शौचालय तथा बसोबासलगायतका पूर्वाधार निर्माणलाई अघि बढाएको छ। यहाँ प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण उडानसमेत गरिएको गाउँपालिकाले जनाएको छ।
महोत्सव व्यवस्थापनका लागि गाउँपालिका अध्यक्ष गुरुङको संयोजकत्वमा एक सय २५ सदस्यीय मूल आयोजक समिति र ११ वटा उपसमिति गठन गरिएको छ। महोत्सवका लागि गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट २० लाख रुपैयाँ विनियोजन गरिएको छ। बाँकी रकम जलविद्युत् आयोजना, टिकट बिक्री, विभिन्न संघसंस्थाको प्रायोजन तथा स्टल भाडालगायतका स्रोतबाट जुटाइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो।
पत्रकार सम्मेलन कार्यक्रममा उपाध्यक्ष जुना माया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल लगायत गाउँपालिकाका नौवटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।










