
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर कुल बजेटको १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गर्दै आएको बताउनुभएको छ।
प्रदेश अस्पताल लमजुङको चौथो वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सीमित आर्थिक स्रोतका बाबजुद स्वास्थ्य क्षेत्रको सुधार, सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि प्रदेश सरकारले लगानीलाई प्राथमिकता दिएको बताउनुभयो।
आफूले सरकारको नेतृत्व सम्हालेयता साढे तीन वर्षको अवधिमा स्वास्थ्य क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा काम गर्दै आएको उहाँको भनाइ थियो। स्वास्थ्य क्षेत्रमा कुल बजेटको कम्तीमा १० प्रतिशत रकम खर्च गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि संघीय र प्रदेश सरकार दुवैले उक्त लक्ष्य पूर्ण रूपमा हासिल गर्न चुनौती सामना गरिरहेको उहाँले उल्लेख गर्नुभयो।
आवश्यकता धेरै र स्रोतसाधन सीमित रहेकाले उपलब्ध बजेट तथा जनशक्तिको प्रभावकारी व्यवस्थापनमार्फत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो। अस्पतालको भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थप गर्न जनप्रतिनिधि तथा अस्पताल व्यवस्थापन समितिले अपेक्षा राख्नु स्वाभाविक भएको भन्दै उहाँले भएका स्रोतसाधनको अधिकतम उपयोग गर्न पनि आग्रह गर्नुभयो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङ र पूर्वस्वास्थ्यमन्त्री मधुमाया अधिकारी, जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, क्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, गोर्खा अस्पतालका अध्यक्ष कृष्णप्रसाद ढकाल र आँपपिपल अस्पताल गोर्खाका अध्यक्ष पार्वती पाठकले शुभकामना मन्तव्य राख्नुभएको थियो।
त्यसैगरी अस्पतालका पूर्वअध्यक्ष हरिजङ तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)उपाध्यक्ष सन्तोषी गौली, नेपाली कांग्रेसका सचिव कृष्णप्रसाद अधिकारी, नेकपा एमालेका उपाध्यक्ष जितबहादुर गुरुङ, नेपाल कम्युनिस्ट पार्टीका सुनिल सुनार, श्रम संस्कृति पार्टीका अध्यक्ष रणबहादुर घले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टाकुरप्रसाद गुरुङले पनि अस्पतालको सेवा विस्तार, पूर्वाधार विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका विषयमा धारणा राख्नुभएको थियो।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले अस्पतालको प्रगति विवरण प्रस्तुत गर्दै हालको सेवा प्रवाह, उपलब्ध स्वास्थ्य सेवा, अस्पतालले हासिल गरेका उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो।
अस्पताल व्यवस्थापन समितिका सदस्य जुन तामाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वार्षिकोत्सवका अवसरमा अस्पतालले हालसम्म हासिल गरेका उपलब्धि र आगामी दिनमा पूर्वाधार, स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा चर्चा गरिएको थियो। कार्यक्रमको सञ्चालन नर्सिङ प्रमुख अञ्जना पौडेल र मेडिकल रेकर्डर सुपरभाइजर पुरुषोत्तम घिमिरेले गर्नुभएको थियो।









