लक्ष्मीपूजाको साँझ विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट भारत निर्यात

-


     नयाँ दीप    
     कार्तिक २२ गते २०८३ मा प्रकाशित


काठमाडौं । यस वर्षको तिहारअन्तर्गत लक्ष्मीपूजाको साँझ राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार ८१३ मेगावाट विद्युत् खपत भएको छ । आन्तरिक माग उच्च भए पनि पर्याप्त उत्पादन भएकाले नेपालले ५८७ मेगावाटभन्दा बढी विद्युत् भारत निर्यात गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग ९पिक डिमान्ड० १ हजार ८१३ मेगावाट पुगेको हो । प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत् माग करिब १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरेको थियो । तर, वास्तविक माग अनुमानभन्दा ११३ मेगावाट बढी देखिएको छ ।

प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार उक्त समयमा राष्ट्रिय प्रणालीको कुल पिक लोड २ हजार ४०० दशमलव ३० मेगावाट पुगेको थियो । यसमध्ये काठमाडौं उपत्यकाको अधिकतम विद्युत् माग ४८९ दशमलव ५० मेगावाट रहेको थियो ।

प्रणालीमा उपलब्ध विद्युत्मध्ये १ हजार ८१३ मेगावाट आन्तरिक खपत भएको र बचत रहेको ५८७ दशमलव ३० मेगावाट विद्युत् भारतीय बजारमा निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

लक्ष्मीपूजाको उच्च मागको समयमा समेत विद्युत् आपूर्तिमा कुनै अवरोध वा ट्रिपिङ नभएको प्राधिकरणको भनाइ छ । देशभर विद्युत् आपूर्ति नियमित र सहज रूपमा सञ्चालन भएको जनाइएको छ ।