
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेसीशहरको सहजी स्थित त्रिवेणी रङ्गशालाको भौतिक पूर्वाधार विकासका लागि तत्काल १० लाख रुपैयाँ विनियोजन गर्ने घोषणा गर्नुभएको छ।
सोमबार बेसीशहर आउनुभएको मुख्यमन्त्री पाण्डेले रङ्गशालाको स्थलगत अवलोकन तथा निरीक्षणका क्रममा खेलकुद पूर्वाधारको विकासलाई प्राथमिकता दिँदै तत्काल बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो।
निरीक्षणका क्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री एवं महाधिवेशन प्रतिनिधि भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति संगठन विभाग प्रमुख एवं महाधिवेशन प्रतिनिधि हरिप्रसाद बराल, त्रिवेणी क्लबका अध्यक्ष टेकजुङ गुरुङ, क्लबका सल्लाहकार लोकेन्द्र गुरुङलगायत पदाधिकारी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रदेश सरकारको थप सहयोगले रङ्गशालाको भौतिक संरचना विकास, खेलकुद गतिविधि विस्तार तथा स्थानीय खेल प्रतिभाको पहिचान र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रङ्गशालालाई व्यवस्थित खेलकुद केन्द्रका रूपमा विकास गर्दै स्थानीय खेलाडीलाई अभ्यास र प्रतियोगिताका लागि उपयुक्त वातावरण तयार गर्ने लक्ष्य राखिएको छ। सो रगंशालामा चर्चित त्रिवेणी कपका साथै जिल्लामा हुने विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन हुँदै आएको छ ।









