पालिका चुनाव वैशाखमा, प्रदेशको मङ्सिरमा गर्ने आयोगको प्रस्ताव

-


     नयाँ दीप    
     मंसिर ४ गते २०८३ मा प्रकाशित


निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श काठमाडौँ, ४ मङ्सिरः स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग शुक्रबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा छलफल गरिँदै । छलफलमा आयोगकाप्रमुख आयुक्त मानबहादुर कार्की, आयुक्तहरुका साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका महामन्त्री आरेन राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । तस्बिरः रञ्जन कार्की/रासस

काठमाडौं, निर्वाचन आयोगले पालिका चुनाव आउँदो वैशाखमा र प्रदेशसभा चुनाव मङ्सिरमा गर्ने प्रस्ताव गरेको छ।

आयोगले शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको प्रारम्भिक छलफलमा यस्तो प्रस्ताव अघि सारेको हो।

आयोगको प्रस्तावप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारात्मक धारणा राख्नुभएको छ। उहाँले संविधान र कानुनी व्यवस्थाअनुसार चुनाव गर्नु उपयुक्त हुने बताउनुभयो।

यता, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेश र पालिकाको चुनाव एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा थप छलफलपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले आयोग, राजनीतिक दल, सरकार र अन्य सरोकारवालाबीच व्यापक छलफल आवश्यक रहेको बताउनुभयो।

२०७९ वैशाखमा निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल आउँदो वैशाख ३० गते सकिँदैछ।