
लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा ऐतिहासिक हरिबोधनी ठूली एकादशी मेला–२०८३ सुरु भएको छ। धर्म, संस्कृति, परम्परा, कला, कृषि र मनोरञ्जनलाई एकै ठाउँमा जोड्ने उद्देश्यले आयोजना गरिएको मेलाको पहिलो दिन बिहीबार विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
खुदी युथको आयोजनामा सञ्चालन भएको मेलाको पहिलो दिन फूलको डोली तार्ने, भजन–कीर्तन, एकादशी सांस्कृतिक साँझ, खुला छेलो प्रतियोगिता तथा कृषि प्रवर्द्धन र स्थानीय उत्पादनको खरिद–बिक्रीका कार्यक्रम सञ्चालन गरिएको थियो।

मेलामा चर्चित गायक अर्जुन सापकोटा र प्रशान्त तामाङको सांगीतिक प्रस्तुतिले थप रौनक थपेको थियो। स्थानीयवासीसँगै छिमेकी पालिकाका बासिन्दाको समेत उल्लेख्य सहभागिता रहेको मेलाले खुदी क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गरेको छ।
खुदी युथ क्लवका अध्यक्ष विशाल रावलको अध्यक्षता तथा मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा मेला सुरु भएको हो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको स्थानीय प्रदिप गुरुङले बताउनुभयो ।

मेलाले खुदीसहित समग्र मर्स्याङ्दी गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धन गर्नुका साथै स्थानीय कला, प्रतिभा, कृषि, खेलकुद र पर्यटनको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
मेलाअन्तर्गत मंसिर ५ गते निःशुल्क मिर्गौला परीक्षण शिविर र गाउँपालिकास्तरीय क्लब पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। मंसिर ६ गते पनि भलिबल प्रतियोगिताले निरन्तरता पाउनेछ भने मंसिर ७ गते खुदी खेलमैदानमा खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गरिनेछ।
स्थानीय संस्कृति र परम्पराको संरक्षणसँगै खेलकुद, कृषि तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएर आयोजना गरिएको मेला आगामी कार्यक्रमहरूसहित निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ।










