गण्डकी प्रदेश सरकारबाट लमजुङका दुई चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मी सम्मानित

-


     नयाँ दीप    
     मंसिर ४ गते २०८३ मा प्रकाशित


लमजुङ। गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले लमजुङका दुई चिकित्सकसहित प्रदेशका १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ।

मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमका अवसरमा शुक्रबार आयोजित एक समारोहबीच उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो।

सम्मानित हुनेमा प्रदेश अस्पताल लमजुङका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. शिशिर देवकोटा र क्हाेलासोथार गाउँपालिका–साल्मेभञ्ज्याङ स्वास्थ्य चौकीमा कार्यरत मेडिकल अधिकृत डा. सागर थापा रहनुभएको छ।

डा. देवकोटा चिकित्सा सेवा तथा अस्पताल प्रशासन र डा. थापा आधारभूत स्वास्थ्य सेवातर्फको योगदानका लागि सम्मानित हुनुभएको हो। स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान, कार्यसम्पादन, स्वप्रेरित सेवाभाव तथा सरोकारवालाहरूको सिफारिसका आधारमा प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ जना कर्मचारी छनोट गरी सम्मान गरिएको मन्त्रालयले जनाएको छ।

प्रदेशस्तरको सम्मानबाट लमजुङका दुई चिकित्सक सम्मानित हुनुले जिल्लाको स्वास्थ्य क्षेत्रमा गरिएको योगदानको कदर भएको छ।