आज हरिबोधनी एकादशी

-


     नयाँ दीप    
     मंसिर ४ गते २०८३ मा प्रकाशित


आज हरिबोधनी एकादशी (तुलसी विवाह) पर्व देशभर मनाइँदैछ। हरिबोधनी एकादशीलाई लमजुङमा विशेष धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाउने गरिन्छ। यस अवसरमा मर्स्याङ्दी र मादी नदीका विभिन्न घाटमा भक्तजनले पूजा आराधना गरी फूलको डोली तारिएको छ ।

मर्स्याङ्दी गाउँपालिकाको खुदीबेँसी, सुन्दरबजार नगरपालिकाको भोटेओडार, बेलघारी र पाउँदी, राइनास नगरपालिकाको तार्कुघाट तथा मध्यनेपाल नगरपालिकाको शिसाघाटमा, बेसीशहर नगरपालिकाका कर्पुरेश्वर महादेव मन्दिर नजिक मर्स्याङ्दी नदीमा फूलको डोली तारिएको छ भने सो स्थानमाम तार्ने र विशेष मेला लागेको छ। यी स्थानमा फूलको डोली तार्ने र धार्मिक मेला भर्न विभिन्न ठाउँबाट भक्तजन पुग्ने गर्छन्।

हिन्दु धर्मशास्त्रअनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु चार महिनापछि कार्तिक शुक्ल एकादशीका दिन जागा हुने धार्मिक विश्वास छ। त्यसैले यस दिनलाई हरिबोधनी एकादशी भनिन्छ। यसै दिन घरआँगनमा रोपिएको तुलसीको विधिपूर्वक विवाह गरिने भएकाले तुलसी विवाहका रूपमा पनि मनाउने गरिन्छ।

यस अवसरमा लमजुङका तीन स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिएका छन्। जिल्लाका सुन्दरबजार र राइनास नगरपालिका तथा मध्यनेपाल नगरपालिकाले मंसिर ४ गते सार्वजनिक बिदा दिने भएका हुन्।