
महिलाको प्रजनन स्वास्थ्य तथा स्त्रीरोगसम्बन्धी समस्या पहिचान र उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट चौथो दिन मगंलबार मात्रै २ सय १४ जना महिला लाभान्वित भएका छन्।
गाउँपालिकाको वडा नं। ४ र ५ का महिलालाई लक्षित गरी घेर्मु स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा २१४ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका हुन्। परीक्षणका क्रममा तीन जनालाई थप उपचार तथा शल्यक्रियाको आवश्यकता देखिएकाले चिकित्सकको सल्लाहअनुसार काठमाडौं लगेर निःशुल्क शल्यक्रिया गरिने गाउँपालिकाले जनाएको छ।
महिलाका लागि महिला संस्था, नेदरल्यान्ड्स (Women for Women Foundation, Netherlands) र स्वदेशी नेपाल (SoDeSI Nepal) को प्रायोजन तथा मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो।
शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ महिला चिकित्सकहरूबाट महिलाको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा उपचार सेवा प्रदान भइरहेको छ। विशेषगरी पाठेघर तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या भएका महिलालाई लक्षित गरी शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
शिविरमा वडा नं. ४ का अध्यक्ष बलबहादुर गुरुङ, वडा नं. ५ का अध्यक्ष घनश्याम घले, जनप्रतिनिधि, स्वदेशी नेपालका कार्यक्रम संयोजक भेषबहादुर खड्का, महिलाका लागि महिला संस्थाका नेपाल प्रतिनिधि विश्वनाथ पौड्याललगायतको उपस्थिति रहेको थियो।
गत कात्तिक २८ गतेदेखि सुरु भएको शिविर मंसिर ३ गतेसम्म गाउँपालिकाका सबै वडामा सञ्चालन हुनेछ। शिविरमार्फत गाउँपालिकाका सबै वडाका महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सबै महिला दिदीबहिनीलाई आफ्नो वडामा तोकिएको शिविर स्थलमा उपस्थित भई स्वास्थ्य परीक्षण गराउन तथा उपलब्ध निःशुल्क सेवाको लाभ लिन आग्रह गरेको छ।









