
मनसुन सकिएर वर्षा रोकिएको भए पनि देशका विभिन्न राजमार्गमा पहिरो खस्ने क्रम रोकिएको छैन। पछिल्लो समय सुक्खा पहिरोका कारण मुख्य सडकहरू पटक–पटक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनले सास्ती भोग्नुपरेको छ।
पछिल्लो एक सातामा पृथ्वी राजमार्ग, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो खस्दा लामो समयसम्म यातायात प्रभावित भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग पटक–पटक अवरुद्ध बनाएको छ। त्यसैगरी कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा पहिरो खस्दा पोखरा–बागलुङ सडकखण्डको आवागमन प्रभावित भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोरमा समेत यातायात सञ्चालनमा समस्या आएको छ।
वर्षा रोकिएपछि पनि किन खस्छ पहिरो ?
सामान्यतया पहिरो भन्नासाथ वर्षायाममा हुने प्राकृतिक विपद्को सम्झना हुन्छ। तर वर्षा रोकिएपछि पनि जमिन तथा चट्टान अस्थिर हुँदा सुक्खा पहिरो खस्ने जोखिम रहन्छ।
भूगर्भविद्हरूका अनुसार सडक निर्माण तथा विस्तारका क्रममा पहाडका भित्ता काट्दा चट्टानको प्राकृतिक संरचना र सन्तुलन बिग्रनु सुक्खा पहिरोको प्रमुख कारणमध्ये एक हो।
बर्खाको असर सुक्खायाममा देखिने
वर्षायाममा पानी पसेर कमजोर बनेको माटो र चट्टान सुक्ने क्रममा थप खुकुलो हुन सक्छ। तापक्रम र प्राकृतिक क्षयीकरणका कारण चट्टान तथा माटो छुट्टिएर सडकमा खस्ने सम्भावना रहन्छ। त्यसैले वर्षा रोकिँदैमा पहिरोको जोखिम पूर्ण रूपमा हट्दैन।
जोखिम घटाउन भित्ताको संरक्षण आवश्यक
विज्ञहरूले सडक विस्तार गर्दा भित्ता काट्ने कामसँगै त्यसको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन्। जोखिमयुक्त स्थानमा तारजाली लगाउने, बायो–इन्जिनियरिङ प्रविधि अपनाउने तथा खुकुलो ढुङ्गा र माटो समयमै हटाउने काम प्रभावकारी हुन सक्छ।
सडक निर्माणपछि भित्ताको अवस्था नियमित निरीक्षण गर्ने र जोखिम देखिएका स्थानमा समयमै संरक्षणका उपाय अपनाउन सके सुक्खा पहिरोबाट हुने क्षति तथा यातायात अवरोध न्यूनीकरण गर्न सकिन्छ।









