
नेपाली कांग्रेसको देउवा पक्षको लमजुङ जिल्ला अधिवेशन आज बिहीबार सम्पन्न भएको छ। अधिवेशनले गणेशराज सिलवाललाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ।
नेपाली कांग्रेसका नेता शंकर भण्डारीले अधिवेशन उद्घाटन गर्नुभएको थियो। अधिवेशनबाट उपसभापतिमा नवराज पौडेल र रामकृष्ण त्रिपाठी सर्वसम्मत चयन हुनुभएको छ।
त्यस्तै, सचिवमा मदनसिंह घिमिरे र सुशीलचन्द्र अधिकारी चयन हुनुभएको छ भने सदस्यमा श्रीराममाया विक सर्वसम्मत चयन हुनुभएको छ।
नेपाली कांग्रेसको आन्तरिक विवादपछि दुवै पक्षले छुट्टाछुट्टै संगठनात्मक गतिविधि अघि बढाइरहेका छन्। गगन थापा पक्षले यसअघि असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ। देउवा पक्षले भने आफ्नो संगठनात्मक प्रक्रिया अघि बढाउँदै जिल्ला अधिवेशनहरू गरिरहेको छ।
देउवा पक्षको लमजुङ जिल्ला अधिवेशन पनि सोही प्रक्रियाअन्तर्गत सम्पन्न भएको हो।










