
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा लमजुङमा दीप प्रज्वलन तथा शोकसभा गरिएको छ। लमजुङ साइकलिङ संघको आयोजनामा बेंसीशहरस्थित भीमसेनस्थानमा शुक्रबार साँझ दीप प्रज्वलनसहित शोकसभा गरिएको छ।
प्रकृतिको प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारका लागि प्रार्थना गरिएको हो।
कार्यक्रमको मुख्य उद्देश्य विपद्को दुःखद् घडीमा पीडित परिवारप्रति एकता, सहानुभूति र साथ प्रकट गर्नुका साथै समाजमा आपसी सहयोग, सद्भाव र मानवीय एकताको सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएको छ।
लमजुङ साइकलिङ संघका सदस्य रबिन श्रेष्ठले १० दिनपछि दुई जनाको जीवितै उद्धार भएको खबरले आफूहरूमा नयाँ आशा जगाएको बताउनुभयो। श्रीकृष्ण जन्माष्टमीको दिन आएको उक्त खबरले विपद्को पीडाबीच पनि आशाको दियो निभेको छैन भन्ने सन्देश दिएको उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “आशा जीवितै छ, विश्वास नछोडौँ। बाँकी बेपत्ताहरू पनि सकुशल भेटिन सक्छन् भन्ने विश्वास राखौँ।”
भोटेकोशी बाढीपछि लामो समयदेखि बेपत्ताको खोजी तथा उद्धार जारी रहेको अवस्थामा १० दिनपछि दुई जनालाई जीवितै उद्धार गर्न सफल भएको घटनाले अन्य बेपत्ताको खोजीमा पनि आशा कायम राख्न प्रेरणा दिएको श्रेष्ठको भनाइ छ।
दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले बाढी तथा पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताहरूको सकुशल उद्धार र पीडित परिवारमा धैर्य तथा शक्ति मिलोस् भन्ने कामना गरेका थिए। साथै, विपद्को समयमा सबै मिलेर पीडितको साथमा उभिनुपर्नेमा जोड दिइएको थियो।
“संकटमा साथ, शोकमा ऐक्यबद्धता, आशामा भविष्य” भन्ने सन्देशसहित गरिएको दीप प्रज्वलनले विपद्को पीडाबीच मानवीय संवेदना र आशाको ज्योति बाल्ने प्रयास गरेको आयोजकले जनाएको छ।









