हर्स राइडिङ्घ व्यवसायमा रम्दै निवर्तमान वडाध्यक्ष दवाडी

-


     नयाँ दीप    
     श्रावण ८ गते २०८१ मा प्रकाशित


कुनै बेलाको गाउँको विकासका लागि दौडधुप गर्ने लमजुङका एक वडाध्यक्ष अहिले भने फरक व्यवसायमा व्यस्त छन् । लमजुङको दुधपोखरी गाउँपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष गोविन्द दवाडीले अहिले हर्स राइडिङ एण्ड बग्गी व्यवसाय सुरु गर्नुभएको हो ।

तारकेश्वर नगरपालिका वडा नं ९, काडमाडौंमा दवाडीले एभरेष्ट हर्स राइडिङ्घ दर्ता गरी करिब १ करोडको लगानिमा व्यवसाय सुरु गर्नुभएको छ । १८ वर्ष सम्म नेपाल सरकारको आर्मीमा जागिर खाँदा घोडचडीमा काम गरेको अनुभव भएकाले पेन्सनमा निस्किएपछि यहि व्यवसाय सुरु गरेको दवाडीले बताउनुभयो ।

यस्तो खालको व्यवसाय नगन्य रुपमा मात्रै हुने र आफूलाई यसमा अनुभव पनि भएकाले यही काम सुरु गरेको उहाँले बताउनुभयो । ४ जना नेपाल आर्मीका रिटायर्ड साथीहरु मिलेर लगानी गरी व्यवसायलाई अघि बढाइएको दवाडीको भनाई छ । उहाँको तबेलामा अहिले ६ वटा घोडाहरु र २ वटा बग्गी रहेका छन् । सबै घोडाहरु भारतबाट ल्याइएको र प्रतिघोडा ५ देखि ६ लाख भारु सम्म परेको छ । हाल साँडे २ रोपनी जग्गा भाडामा लिएर व्यवसाय सुरु गर्नुभएको दवाडीले छिट्टै नै १० वटा घोडा र ५ वटा बग्गी बनाउने लक्ष्य रहेको श्यामकृष्ण अर्यालले सुनाउनुभयो ।

विषेश गरी विवाह, ब्रतवन्ध, चौरासी पुजा, मेला उत्सव, धार्मिक कार्यक्रम, फिल्म सुटिङमा घोडा र बग्गी प्रयोग हुने गरेपनि पछिल्लो समय विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई हर्स राइडिङ गर्न सिकाउनको लागि पनि लैजाने गरेका छन् । बग्गीका लागि ठाउँ हेरेर दैनिक ९० हजार देखि १ लाख २० हजार सम्म लिइन्छ । यो व्यवसायमा उहाँले ४ जनालाई रोजगारी समेत दिनुभएको छ ।

प्रायःजसो आर्मीका अफिसरहरुले मात्रै घोडचडी तथा बग्गीको प्रयोग गर्ने गरेपनि आफूले यस्तो व्यवसाय गरेर सर्वसाधरण जनताका लागि पनि सहज बनाएको दवाडीले बताउनुभयो । पछिल्लो सयममा बैदेशिक रोगजारका लागि अमेरिका, अष्ट्रेलिया, यूरोप लगायतका ठाउँहरुमा गएकाहरुले नेपाल आएर विवाह गर्दा बग्गीको प्रयोग धेरै गर्ने गरेको दवाडीले बताउनुभयो ।

देश विकासोन्मुख तर्फ गैरहेकाले दुर दराजका प्राय सबै जसो ठाउँमा मोटरबाटोको सुविधा पुगेकाले पछिल्लो सयम घोडा, खच्चर पाल्ने प्रचलन हराउँदै जाँदा घोडा नै लोप हुने अवस्थामा पुगेको भन्दै यस्तो व्यवसायलाई सरकारले पनि संरक्षण जरुरी रहेको दवाडीको भनाई छ ।