त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार, छाउनीमा उपचार हुँदै

-


     नयाँ दीप    
     भाद्र १९ गते २०८३ मा प्रकाशित


काठमाडौं — रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढी आएको १०औँ दिन आज बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका कविर महर्जन र सञ्जय साहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याई वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ का ३० वर्षीय सञ्जय साह आयोजनाको कन्ट्रोल रुममा एचईपी फोरम्यान (मेकानिकल) का रूपमा कार्यरत थिए। उद्धारपछि सैनिक अधिकारीसँगको कुराकानीमा उनले बाढी आएलगत्तै सबैलाई बाहिर निस्कन आग्रह गरे पनि अरूलाई बचाउने क्रममा आफू अन्तिममा निस्कन नसकी सुरुङभित्रै अड्किएको बताएका छन्।

सुरुङभित्र अड्किएपछि आफूले महामन्त्र जप्दै बसेको र अझै केही व्यक्ति सुरुङभित्र फसेको हुन सक्ने उनले जानकारी दिएका छन्। साहको स्वास्थ्य अवस्था सामान्य रहेको र छाउनीस्थित सैनिक अस्पतालमा थप परीक्षण तथा उपचार भइरहेको छ।

त्यस्तै काठमाडौं बालकुमारीका ४५ वर्षीय मेकानिकल सुपरभाइजर कविर महर्जनलाई पनि सुरुङबाट जीवितै उद्धार गरिएको हो। उनको अवस्था भने जटिल रहेको छ। महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य विज्ञसहितको संयुक्त टोलीले आज बिहान सुरुङभित्रबाट दुवै जनाको उद्धार गरेको हो।

भोटेकोशी बाढीपछि आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा उद्धार टोलीले लगातार खोजी तथा उद्धार प्रयास गर्दै आएको थियो। सुरुङभित्र अझै केही व्यक्ति फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको छ।