अस्ट्रेलियामा रहेका नेपालीको BTGN ले बाढीपीडितका लागि जुटायो १९ लाख ५० हजार

-


     नयाँ दीप    
     भाद्र १९ गते २०८३ मा प्रकाशित


लमजुङ । विदेशमा रहेर पनि मातृभूमिमा परेको विपद्मा सहयोग गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्था ब्रिज द ग्याप नेपाल (BTGN ) ले बाढीपीडितका लागि करिब १९ लाख ५० हजार रुपैयाँ सहयोग जुटाएको छ।

हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अस्ट्रेलियाको सिड्नीमा रहेका नेपालीहरूबाट उक्त रकम संकलन गरिएको हो।

विशेषगरी लमजुङ, तनहुँ, चितवन, काठमाडौं, पाल्पा र नुवाकोटलाई आफ्नो स्थायी वा पुर्ख्यौली थलो बताउने नेपालीहरूको सहभागितामा गठन भएको द्यत्न्ल् ले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

बाढीका कारण घर, सम्पत्ति तथा रोजगारी र जीविकोपार्जन गुमाएका परिवारलाई राहत पुर्‍याउने उद्देश्यले स्वेच्छिक रूपमा सहयोग संकलन गरिएको संस्थाले जनाएको छ।

नयाँ नेतृत्वको पहिलो सामाजिक पहल

BTGN को अगस्ट ८ मा सम्पन्न साधारणसभाबाट लमजुङको बेँसीसहर–७, सातबिसेका निर्मल अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो। नयाँ नेतृत्व आएको छोटो समयमै अधिकारीको पहल र नेतृत्वमा बाढीपीडितका लागि सहयोग अभियान सञ्चालन गरिएको हो।

अस्ट्रेलियामा रहेका नेपाली समुदायबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम राहत कोषमा हस्तान्तरण गरिएको अध्यक्ष अधिकारीले बताएका छन्।

नयाँ कार्यसमितिको सुरुवाती चरणमै गरिएको यो मानवीय अभियानले विदेशमा रहेका नेपालीहरूलाई मातृभूमिको विपद्मा जोड्ने प्रयासलाई समेत बलियो बनाएको संस्थाका पदाधिकारीहरूको भनाइ छ।

१३–१४ वर्षदेखि सामाजिक सेवामा सक्रिय

ब्रिज द ग्याप नेपाल ( BTGN) विगत १३–१४ वर्षदेखि शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न किसिमका सहयोग र अभियान सञ्चालन गर्दै आएको संस्था हो।

शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको संस्थाले समय र परिस्थितिअनुसार विपद् तथा मानवीय सहयोगका अभियानमा समेत सहभागिता जनाउँदै आएको जनाएको छ।

भोटेकोशी बाढीपछि प्रभावित परिवारको सहयोगका लागि अस्ट्रेलियामा रहेका नेपालीहरूबाट संकलित करिब १९ लाख ५० हजार रुपैयाँले विपद्को समयमा प्रवासमा रहेका नेपालीहरूको सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको सम्बन्धलाई समेत प्रतिबिम्बित गरेको संस्थाका सल्लाहकार कृष्णकुमार श्रेष्ठले बताउनुभयो।

अध्यक्ष निर्मल अधिकारीसहित नयाँ कार्यसमितिको पहलमा गरिएको यो सहयोग  ( BTGN) को सामाजिक सेवाप्रतिको निरन्तरता र मानवीय संवेदनाको उदाहरण बनेको संस्थाले जनाएको छ।