
जिल्ला प्रशासन कार्यालय लमजुङले प्रमुख जिल्ला अधिकारीको सचिवालयमा कार्यरत खरिदार दिननाथ अधिकारीलाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट कर्मचारी घोषणा गर्दै प्रशंसा–पत्र प्रदान गरेको छ।
कार्यालयमा कार्यरत कर्मचारीमध्ये कार्यसम्पादन, अनुशासन, जिम्मेवारीबोध, समयपालना तथा सेवा प्रवाहमा देखाएको उत्कृष्ट योगदानका आधारमा अधिकारी उत्कृष्ट कर्मचारीका रूपमा छनोट भएका हुन्। उनलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बिहीबार प्रशंसा–पत्रसहित सम्मान गर्नुभयो।
पर्वत जिल्ला फलेवास नगरपालिका–३ स्थायी घर भएका अधिकारी २०८० साउन ७ गतेदेखि जिल्ला प्रशासन कार्यालय लमजुङमा कार्यरत छन्। उनले फ्रन्ट डेस्कमा रही सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्नुका साथै बजार अनुगमनलाई तीव्रता दिई व्यवसायीहरूलाई बजार अनुगमनसम्बन्धी जानकारी गराउने, बैठक व्यवस्थापन गर्ने, मन्त्रालयसँग भएका कार्यसम्झौताहरू प्रणालीमा प्रविष्ट गर्ने लगायत कार्यालयको समग्र कार्यसम्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरेका कारण उत्कृष्ट कर्मचारीका रूपमा छनोट गरिएको कार्यालयले जनाएको छ।
कार्यालयले समयपालना र नियमितता, मितव्ययिता तथा पारदर्शिता, गोपनीयता, व्यावसायिक आचरण र अनुशासन, जवाफदेहिता तथा जिम्मेवारीलगायतका सूचकका आधारमा कर्मचारीको मूल्याङ्कन गर्दै आएको छ। कार्यालयभित्र उत्कृष्ट कार्यसंस्कृतिको विकास गर्नु, कर्मचारीमा थप उत्प्रेरणा जगाउनु तथा सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनु भएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयको यस पहलले कर्मचारीबीच स्वस्थ प्रतिस्पर्धा, जिम्मेवारीबोध र कार्यसम्पादनमा उत्कृष्टता कायम राख्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। सम्मान कार्यक्रममा प्रशासकीय अधिकृत नवराज शर्मा दोरङ्गा, चन्द्रकान्त तिमिल्सिनालगायत कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।









