आजबाट मनसुन थप सक्रिय हुँदै, लमजुङका जोखिमपूर्ण सडकमा रात्रिकालीन यातायात बन्द

-


     नयाँ दीप    
     श्रावण २ गते २०८३ मा प्रकाशित


मनसुन प्रणाली थप सक्रिय भएसँगै बाढी तथा पहिरोको जोखिम बढेपछि लमजुङका जोखिमपूर्ण सडक खण्डमा रात्रिकालीन सवारी आवतजावतमा रोक लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्ला सुरक्षा समिति लमजुङको निर्णयअनुसार जोखिमयुक्त सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ। अविरल वर्षाका कारण पहिरो खस्ने, सडक अवरुद्ध हुने र यात्रुहरू बीच बाटोमै अलपत्र पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको हो।

जल तथा मौसम विज्ञान विभागले आज साउन २ गते देखि ५ गते सम्म मनसुन थप सक्रिय हुने र केही स्थानमा निकै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। विशेषगरी रातिको समयमा बढी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो र सडक दुर्घटनाको जोखिम बढ्ने अनुमान गरिएको छ।

सुरक्षा समितिको निर्णयअनुसार असार १६ गते देखि बन्द रहेको विभिन्न बाटोहरु थप साउन ३१ गते सम्म रातको समयमा बन्द गर्ने निर्णय गरेको छ । जसमा बेसीसहर–मनाङ सडक खण्डमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको छ। उक्त प्रतिबन्ध बेसीसहरदेखि मनाङ जिल्लाको सीमाना जगतभञ्ज्याङसम्मको सडक खण्डमा लागू हुनेछ।

त्यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत सुन्दरबजार–भोरलेटार सडक खण्डमा पनि रात्रिकालीन यातायात बन्द गरिएको छ। भिमिरे–भञ्ज्याङ क्षेत्रमा अत्यधिक वर्षा र पहिरोको उच्च जोखिम रहेकाले सुन्दरबजारदेखि भोरलेटारसम्मको सडकमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवतजावत रोकिएको प्रहरीले जनाएको छ।

यसअघि पनि जिल्ला प्रहरी कार्यालय लमजुङले गत असार १६ गतेदेखि ३१ गतेसम्म जोखिमपूर्ण सडक खण्डमा रात्रिकालीन यातायातमा रोक लगाएको थियो।

प्रहरीले सम्भावित दुर्घटना र जोखिमबाट बच्न रातिको समयमा अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारण तथा यात्रुहरूलाई आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा यात्रा गर्नुपरे मौसम र सडकको अवस्था बुझेर वैकल्पिक मार्ग प्रयोग गर्नसमेत अनुरोध गरिएको छ।