
नेपाल पत्रकार महासंघ लमजुङ शाखाको १७ औँ साधारणसभाको बन्दसत्रले संस्थागत तथा आर्थिक प्रतिवेदन पारित गर्दै ६ बुँदे घोषणापत्र जारी गरेको छ। सुन्दरबजार नगपालिकाकामा भएको कार्यक्रममा महासंघका अध्यक्ष सन्देश पौडेलले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष निरज अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि व्यापक छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको हो।
साधारणसभाले जारी गरेको घोषणापत्रमा सञ्चारकर्मीको हक–हित, पेशागत सुरक्षा, उचित पारिश्रमिक र स्वास्थ्य बीमाका विषयमा संस्थागत रूपमा निरन्तर काम गर्ने, नयाँ पत्रकार उत्पादन तथा क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता, कालोबजारी र कृत्रिम अभावविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलविद्युत तथा अन्य सार्वजनिक सरोकारका विषयमा जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तहलगायत सरोकारवालासँग सहकार्य बढाउने, विपद् तथा संवेदनशील परिस्थितिमा सञ्चारकर्मीलाई आचारसंहिताअनुसार जिम्मेवारीपूर्ण पत्रकारिता गर्न आग्रह गर्ने तथा ग्रामीण पर्यटनको प्रवर्द्धनका लागि स्थानीय तहसँग सहकार्य गर्दै पर्यटनसम्बन्धी कार्यक्रम, अन्तरक्रिया, कार्यशाला, लेखनवृत्ति, बैठक, साधारणसभा र अधिवेशनलाई घुम्ती रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
बन्दसत्रले जिल्ला समन्वय समिति लमजुङसँगको सहकार्यमा स्थापित विकास पत्रकारिता पुरस्कारबाट वर्ष २०८१ का लागि महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार परमेश्वर अधिकारी र वर्ष २०८२ का लागि अग्रज सञ्चारकर्मी तथा रेडियो मर्स्याङ्दीका निर्देशक मिना गुरुङलाई पुरस्कृत गरिएको निर्णयलाई अनुमोदन गरेको छ। साथै, शाखाको सचिवालय भवन निर्माणमा योगदान पुर्याएको भन्दै परमेश्वर अधिकारीलाई विशेष सम्मान गर्दै दुवै व्यक्तित्वलाई बधाई ज्ञापन गरिएको छ।
यस्तै, १७औँ साधारणसभा तथा महासंघका विभिन्न कार्यक्रम र अभियानमा आर्थिक तथा नैतिक सहयोग पुर्याएको भन्दै सुन्दरबजार नगरपालिकाप्रति साधारणसभाले धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।











