मध्य असारमै डढेलोले क्षति

-


     नयाँ दीप    
     असार १५ गते २०८३ मा प्रकाशित


सामान्यतया वर्षायाम सुरु भएसँगै वन डढेलोका घटना कम हुने अपेक्षा गरिन्छ। तर मध्य असारमै हिमाली जिल्ला मनाङमा भने डढेलो लागेको लागेकोे छ । आइतबार मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डे नजिकको ङोरो डाँडामा लागेको डढेलोले करिब साढे २ रोपनी वन क्षेत्र प्रभावित भएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, मनाङका अनुसार बिहान करिब ८ बजेतिर सुरु भएको आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, एक्यापका कर्मचारी र स्थानीयवासी संयुक्त रूपमा खटिएका थिए। आगो दिउँसो नियन्त्रणमा आए पनि पूर्ण रूपमा निभाउन साँझ करिब ५ बजेसम्म समय लागेको थियो।

यता नेपाल प्रहरीले भने बिहान करिब १०ः५० बजे हुम्डे पाखास्थित ङोरो डाँडा (कालो जंगल) क्षेत्रमा डढेलो लागेको सूचना प्राप्त भएको र करिब १ः४० बजे आगो नियन्त्रणमा आएको जनाएको छ।

डढेलोबाट मानवीय तथा चौपायामा कुनै क्षति नभएको जनाइएको छ। आगलागी कसरी सुरु भयो भन्ने विषय अझै खुल्न सकेको छैन। घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरी र एक्यापले अनुसन्धान अघि बढाएका छन्।

यस वर्ष देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय भइसकेको र धेरै ठाउँमा नियमित वर्षा भइरहेका बेला पनि वनमा डढेलो लाग्नु अस्वाभाविक घटनाका रूपमा हेरिएको छ। पर्याप्त वर्षा नहुनु, लामो समयसम्म सुख्खा मौसम रहनु वा मानवीय लापरबाहीजस्ता कारणले वर्षायाममै पनि यस्ता घटना हुन सक्ने वन क्षेत्रका जानकारहरू बताउँछन्।