गिलुङमा पाँचदिने होमस्टे तथा पाक शिक्षा तालिम सुरु, ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

-


     नयाँ दीप    
     असार २ गते २०८३ मा प्रकाशित


लमजुङको क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ९मेड्पा० अन्तर्गत पाँचदिने होमस्टे व्यवस्थापन तथा पाक शिक्षा तालिम सुरु भएको छ। स्थानीय पर्यटनलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमले होमस्टे सञ्चालकहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण पर्यटनको विकास, स्थानीय रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा होमस्टेको महत्वपूर्ण भूमिका रहेको बताए। उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै स्थानीय स्रोत, संस्कृति र परम्पराको संरक्षणसँगै आयआर्जनका अवसर विस्तार गर्न सहभागीलाई आग्रह गनभयो ।

गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले गुणस्तरीय सेवा, सरसफाइ र आत्मीय आतिथ्य होमस्टे व्यवसायको सफलताका मुख्य आधार भएको उल्लेख गर्दै यस्ता तालिमले स्थानीय पर्यटनलाई थप आकर्षक र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। उनले गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्र्नुभएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने तालिममा सहभागीलाई होमस्टे सञ्चालनका आधारभूत सिद्धान्त, पाहुना सत्कार, सरसफाइ तथा सेवा व्यवस्थापनका साथै स्थानीय परिकारको तयारी, प्रस्तुतीकरण र पाककला सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।

गाउँपालिकाका अनुसार यस्ता कार्यक्रमले ग्रामीण पर्यटन प्रवर्द्धन, स्वरोजगार सिर्जना तथा स्थानीय आर्थिक गतिविधिलाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्यानउने अपेक्षा गरिएको छ।

वडा नं. ९ का वडा अध्यक्ष हुमराज गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सदस्य शिव गुरुङ, अन्य जनप्रतिनिधि, होमस्टे सञ्चालक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।