प्याब्सन लमजुङद्वारा शिक्षक अभिमुखीकरण कार्यक्रम आयोजना

-


     नयाँ दीप    
     जेठ ३१ गते २०८३ मा प्रकाशित


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति लमजुङको आयोजनामा प्याब्सनसँग आबद्ध निजी तथा संस्थागत विद्यालयका शिक्षकहरूका लागि एकदिने शिक्षक अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक इन्द्रमणि दाहाल तथा उत्प्रेरक डा. तारा जीले पाठ्यक्रम, आधुनिक शिक्षण विधि, निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली, लगायत समसामयिक शैक्षिक विषयमा प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले शिक्षक समाज निर्माणका प्रमुख आधार भएको उल्लेख गर्दै शिक्षकले प्रदान गर्ने ज्ञान, सीप र संस्कारले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले शिक्षकहरू जिम्मेवार, अनुशासित र समयअनुकूल हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्याब्सन लमजुङका सल्लाहकार तथा मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ र सल्लाहकार तारानाथ घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता अभिमुखीकरण कार्यक्रमले शिक्षकहरूको क्षमता अभिवृद्धि गरी समग्र शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने बताउनुभयो ।

प्याब्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष विमल अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने सचिव विनोद गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

जिल्लाभरका प्याब्सनसँग आबद्ध निजी तथा संस्थागत विद्यालयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, व्यवहारिक र विद्यार्थीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।