
लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ पनि दोब्बर मत सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय दिएको अन्तिम मतपरिणाम अनुसार रास्वपाले चुनाव चिन्ह घण्टीमा ३४ हजार ५ सय ७५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।
कुल १ लाख ३८ हजार २ सय ५२ मतदाता रहेकोमा ७६ हजार २ सय ८९ मत खसेको थियो । खसेको मतमध्ये ७४ हजार ३ सय ३७ मत सदर भएका छन् भने १ हजार ९ सय ५२ मत बदर भएका छन् ।
दोस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सूर्य चिन्हमा १५ हजार ८ सय ४९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले रुख चिन्हमा १५ हजार ६ सय २ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएको छ भने नेपाली कम्प्युनिष्ट पार्टीले पाँचकुने तारा चिह्नमा ३ हजार २ सय ६८ मत प्राप्त गरेको छ ।
त्यस्तैगरी राष्ट्रिय प्रजान्तन्त्र पार्टीले हलो चिह्नमा १ हजार ६ सय ८, श्रम संस्कृति पार्टीले १ हजार १ सय ३७, राष्ट्रिय परिवर्तन पार्टीले ५ सय ९५, मंगोल नेशनल अर्गनाइजेशनले ४ सय ९९, नेपाल जनता संरक्षण पार्टीले २ सय २६, जनमत पार्टीले १ सय ४२ मत प्राप्त गरेको छ । लमजुङमा समानुपातिकतर्फ कुल ५७ वटा राजनीतिक दल चुनावी मैदानमा उत्रिएका थिए ।










