आज रंगहरूको पर्व होली मनाइँदै

-


     सृजना बराल    
     फागुन १८ गते २०८२ मा प्रकाशित


आज पहाडी तथा हिमाली जिल्लाहरूमा रगंहरुको पर्व फागु पूर्णिमा अर्थात् होली भव्यताका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउन लागिएको छ ।

शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको अन्त्य भएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । नेपालका सबै जातजातिले मनाउने होली पर्व पहिलो दिन पहाडी भेगमा मनाउने गरिन्छ भने दोस्रो दिन तराईका क्षेत्रहरूमा मनाइने चलन छ ।

त्रेतायुगमा हिरण्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान् भक्त प्रहृलादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान् विष्णुको प्रतापले प्रहृलादलाई आगोले केही नगरे पनि आगोले नजल्ने वरदान पाएकी होलिका भने सो अग्निमा जलेर नष्ट भएको किंवदन्ती होली पर्वसँग जोडिएको छ ।

नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागु पूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् बताउँछन् । फागुमा प्रयोग गरिने रङको आ–आफ्नै महत्व रहेको पाइन्छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो ।

भगवान् गणेशलाई सबै रङ मनपर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । हिन्दूहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिने गरेको हुँदा होलीमा रंगहरूको टीका लगाई मनाउने गरिन्छ । यो पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।