
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दिदीबहिनीले दाजुभाइलाई श्रद्धा र आस्थापूर्वक भाइटीका लगाएर मनाउँदैछन्।
हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको प्रमुख पर्व हो। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ।
भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। धार्मिक मान्यताअनुसार यस दिन दिदीबहिनीले दाजुभाइको पूजा गरी टीका लगाइदिँदा उनीहरूको आयु र ऐश्वर्य वृद्धि हुने विश्वास गरिन्छ। टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने, उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ।
भाइटीका दिनभर लगाउन सकिने भए पनि साइतअनुसार टीका लगाउन चाहनेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार राज्य सञ्चालकले भने यही साइतमा टीका लगाउनुपर्नेछ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र टीका लगाउने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ।
भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दाजुभाइलाई तेलको धाराले छेकेर निधारमा टीका लगाइदिने चलन छ। त्यसपछि मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्याएर ओखर, कटुस, मरमसला तथा सेलरोटीलगायत परिकार दिने गरिन्छ।
सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि धर्मशास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउने गर्छन्। कुल परम्पराअनुसार समुदायका केहीले भाइटीकाकै दिन र केहीले अघिल्लो दिन किजापूजा गर्ने चलन छ। भक्तपुरका अधिकांश नेवार समुदायले भने तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार अघिल्लो दिन नै किजापूजा गरेका छन्।









