तिहारको चौथो दिन आज गौमाताको पूजा र सम्मानमा गरिदैँ

-


     नयाँ दीप    
     कार्तिक २३ गते २०८३ मा प्रकाशित


यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज देशभर गाईपूजा गरी मनाइँदैछ। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाईलाई गौमाताका रूपमा सम्मान गर्दै पूजा गर्ने, माला लगाइदिने र मीठा परिकार खान दिने परम्परा छ।

हिन्दू धर्मशास्त्रमा गाईलाई लक्ष्मीको प्रतीकका रूपमा समेत लिने गरिन्छ। गाईको दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका साथै दूध, दही, घिउ, गोबर र गहुँत धार्मिक तथा दैनिक जीवनमा उपयोगी हुने भएकाले गाईलाई विशेष महत्त्वका साथ पूजा गर्ने चलन रहेको छ।

गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा मानिन्छ। धार्मिक विश्वासअनुसार गाईको शरीरमा विभिन्न देवीदेवताको वास हुने भएकाले गाईको पूजा गर्दा पुण्य प्राप्त हुने र घरपरिवारमा सुख, शान्ति तथा समृद्धि आउने विश्वास गरिन्छ। यही मान्यताअनुसार बिहानै गाईलाई नुहाइदिएर सिँगारी माला, टीका लगाई पूजा गर्ने र मिठा खानेकुरा खुवाउने गरिन्छ।

नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिने धर्मशास्त्रका जानकारहरूको भनाइ छ।

गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। धार्मिक परम्पराअनुसार साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिने चलन पनि छ। यसो गर्दा वैतरणी नदी पार गर्न सहज हुने धार्मिक विश्वास रहेको छ।

यसअघि तिहारको पहिलो दिन कागपूजा, दोस्रो दिन कुकुरपूजा र तेस्रो दिन लक्ष्मीपूजा गरिएको थियो। आज गाईपूजासँगै तिहारको उल्लास जारी रहँदा भोलि गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा नेवार समुदायको म्हपूजा मनाइनेछ। भोलिदेखि नेपाल संवत् ११४७ पनि सुरु हुँदैछ।

यमपञ्चकको अन्तिम दिन बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाई दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परासँगै यस वर्षको तिहार सम्पन्न हुनेछ।